Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै

उद्‌घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

दमौली, २५ कात्तिक । तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएका छन् ।

व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उनीहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुटेका हुन् ।

समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् । 

पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निभाउँदै आएका छन् ।

त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निभाउछन् । 

युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताए ।

उनले भने, “पाउदुरे नाच लोप हुन नदिन युवा नभएपनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौँ ।”

पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ । 

पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताए ।

उनले भने, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामीहरू जुटेका छौँ ।

गाउँमा भएका युवालाई नाच सिकाएर पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।”

तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उनीहरुको समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो ।

कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए ।

ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ ।

“यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ ।

छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उनले भने ।

नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् ।

गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ ।

गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् ।

पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिए । रासस

View : 70

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved