Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

धार्मिक पर्यटक लोभ्याउँदै झापाको सताक्षीधाम

उद्घोष सम्वाददाता
८ मंसिर २०८१, शनिवार

झापा, ८ मङ्सिर । महाभारत कालमा गुप्तबास बसेका बेला पाँच पाण्डवले १०० आँखा भएकी सतीदेवीको पूजा आराधना गरेको किम्बदन्ती जोडिएको यहाँको सताक्षीधामले देश विदेशका धार्मिक पर्यटक आकर्षण गरेको छ । 

शिवसताक्षी नगरपालिका–११ स्थित चुरे पहाडको फेदीमा घना जङ्गल माझ रहेको सताक्षीधाममा सताक्षीदेवीको पूजा गर्न आउने दर्शनार्थीको वर्षौँदेखि भिड लाग्दै आएको छ । हाल धाम परिसरमै गोलोक गोवर्द्धन गौशाला र रुद्राक्षको मालाद्वारा निर्मित ५१ फिट अग्लो शिवलिङ्गले धामको आकर्षण अझ बढेको छ ।

एक दशकअघि आचार्य नन्दकिशोर भारद्वाजले चार वटा गाईपालन गरेर धाममा गौशालाको थालनी गरेका थिए । घनघोर जङ्गलमा कुटी बनाएर भारद्वाजले सुरु गरेको त्यही गौशाला अहिले विस्तार भएर पर्यटकीय आकर्षणको केन्द्र बन्न पुगेको स्थानीय पत्रकार विनोद सापकोटा बताउछन् ।

“हिउँद होस् या बर्खा, यहाँ आउने पर्यटकको कहिल्यै कमी भएन”, उनले भने, “अहिले धाममा एक अर्बभन्दा बढी लगानीमा धार्मिक पर्यटकीय पूर्वाधार निर्माण भइसकेका छन्, विदेशबाट आउने पर्यटकलाई पूजा, ध्यान र भ्रमण गर्नका लागि बस्ने र खाने ठाउँको कुनै कमी छैन ।”

पूर्वपश्चिम राजमार्गको झिलझिले चोकबाट पाँच किलोमिटर उत्तरमा रहेको धाम पुग्नका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले दुई वर्षअघि नै कालोपत्र सडकको निर्माण र विद्युत् तथा खानेपानीको सुविधा पुर्याएका छन् । धाम क्षेत्रभित्र एकैपटकमा एक हजारभन्दा बढी मानिस अट्ने विशाल आवास गृह निर्माण गरिएको छ । गौशालाका अध्यक्ष नन्दकिशोर भारद्वाजले गौशालामा हाल एक हजार पाँचभन्दा बढी गाईगोरु संरक्षण भइरहेको बताए ।

गौशालामा नेपाल र भारतका विभिन्न ठाउँमा पाइने रैथाने र भारतको मथुरा वृन्दावनमा पाइने रैथाने गोवंशका गाईसमेत पालिएका छन् । गौशालामा संरक्षित जुरो भएको गाई हेर्न धर्मावलम्बी आउने गरेका छन् । वृद्धावस्थाका कारण सडकमा छाडिएका र बेच्नका लागि लगिएका बेला उद्धार गरिएका गाईलाई गौशालामा उपचार र संरक्षण गरेर राख्ने गरिएको छ । यहाँ गाईगोरुको उपचारको भरपर्दो व्यस्था रहेको छ । गौशालासँगै मठमन्दिरका ठूला संरचना र हरिदेव संस्कृत विद्यालय रहेको धाममा लक्ष्मी नारायण, सताक्षीमाता, शिवालय, बराह, राम दरबार र द्वापर ज्योतिलिङ्ग लगायतका दर्जनौँ मठमन्दिर सुशोभित छन् ।

गोलोक गोवर्द्धन गौशालाका लागि भारत, अमेरिका, भुटान, क्यानाडा, अस्ट्रेलियासम्म गौप्रेमीहरुबाट सहयोग जुट्ने गरेको छ । गौशाला हेरचाहमा स्थानीय ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यही धामको नामबाट स्थानीय शिवसताक्षी नगरपालिकाको नामकरण गरिएको हो । धामभन्दा केही उत्तर इलामको पहाडी खोचमा मनमोहक झरना रहेको छ । झापाबाट सबैभन्दा नजिकको दूरीमा रहेको झरना भएकाले हेर्न, तस्बिर खिच्न र नुहाउन जाने पर्यटकको सङ्ख्या उत्तिकै धेरै छ ।

यसैबीच सताक्षीधाममा यही मङ्सिर १४ देखि २४ गतेसम्म ‘सताक्षी गोरक्षा महोत्सव २०८१’ आयोजना गर्ने तयारी भइरहेको अध्यक्ष भारद्वाजले बताए । गोलोक गोवर्द्धन गौशालाले वार्षिक अनुष्ठानका रुपमा आयोजना गरेको यो १०औँ वार्षिक धार्मिक महोत्सव हो । 

महोत्सवमा धनधान्याञ्चल ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, सीताराम विवाह तथा महापुराण कथा प्रवचन हुने जनाइएको छ । महोत्सवमा रुद्राक्ष मालाबाट निर्मित ५१ फिट अग्लो शिवलिङ्गको पूजा आराधना गर्ने अवसर भक्तजनले पाउने भएका छन् । उक्त शिवलिङ्गमा एक करोड १५ हजार रुद्राक्ष मालाजडित रहने भारद्वाजले जानकारी दिए । 

“छ महिना अघिदेखि सङ्खुवासभाबाट खरिद गरी रुद्राक्षको माला सङ्कलन गरिएको हो”, उनले भने । रुद्राक्षजडित ५१ फिटको शिवलिङ्गमा विशेष पूजाका लागि युरोपियन मुलुक र दक्षिण एसियाली मुलुकका सयौँ धार्मिक व्यक्ति आउने उनले जानकारी गराए । 

महोत्सवमा लाखौँ धर्मानुरागीहरुको उपस्थिति रहने र २० मुलुकबाट हिन्दू सनातनी धार्मिक अगुवाको आगमन हुने उनले बताए । महोत्सवमा श्रीलिङ्ग महापुराणको कथावाचन आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले गर्नुहुने र समग्र महोत्सव सञ्चालनका लागि एक करोड खर्च हुने अनुमान गरिएको उनको भनाइ छ ।  रासस

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved