सुनसरी । एचआईभी संक्रमणको जोखिममा भएकाहरूका लागि लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा सुनसरीमा पनि सुरू भएको छ ।
नेपालमै पहिलोपटक सुरू भएको यो सेवा गत साता पश्चिम नेपालको पाल्पामा पनि सुरू भएको थियो । नेपाल परिवार नियोजन संघहरूको अन्तर्राष्ट्रिय संगठन आईपीपीएफको परियोजनाअन्तर्गत पाल्पा र सुनसरी गरी नेपालका दुई जिल्लामा मात्र लागू गरिएको छ । सो परियोजना नेपाल परिवार नियोजन संघको जिल्ला शाखा मार्फत गरिने कार्यक्रम अनुसार संघको इटहरीस्थित कार्यालयको क्लिनिक मार्फत् सेवा सुरू भएको हो ।
सुनसरीलगायत छिमेकी अन्य जिल्लाका बासिन्दाले यो सेवाबाट फाइदा लिन पाउने नेपाल परिवार नियोजन संघ इटहरीकी प्रमुख रानु राउतले जानकारी दिइन् । राउतका अनुसार एचआईभी सक्रमण भई नसकेका तर उच्च जोखिम भएका व्यक्तिहरूलाई लक्षित सो उपचार सेवाले फाइदा पुग्नेछ ।
विश्व स्वास्थ्य संगठनले प्रयोगमा ल्याएको सो सेवाले बैदेशिक रोजगारीमा काम गर्न गएर फर्किने जोखिममा परेका श्रमिकलाई समेत फाइदा पुग्ने राउतले जानकारी दिइन् ।
एचआईभी सक्रमण भई एआरटी सेवा लिइरहेका व्यक्तिहरूको यौन साथीलाई सबैभन्दा बढी फाइदा हुने राउतको भनाइ छ । यीबाहेक समलिंगी महिला तथा पुरूषले पनि फाइदा पाउनेछन् । यौनकर्मी महिला वा पुरूषलाई पनि प्रेप सेवा दिन सकिनेछ ।
समाजमा कतिपय सुईबाट नशालु पदार्थ लिनेहरू तथा यौन रोगीहरूलाई केन्द्रित गरेर एचआईभी संक्रमणबाट बचाउन सुरू भएको यो सेवा प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।
यो सेवा प्रदान गर्नका लागि १० जना मेडिकल अधिकृत साथै सामुदायिक स्वयंसेवक नियुक्त भइसकेको परिवार नियोजन संघ इटहरीले जनाएको छ ।
प्रेप उपचार सेवा रोग लाग्नुभन्दा अगाडि नै लक्षणको आधारमा गरिने उपचार विधि हो । दैनिकरूपमा हुने यो सेवा पूर्ण गोपनीयताका साथ गरिने बताइएको छ ।
एचआईभी संक्रमण जोखिममा रहेकाले प्रेप मुखबाट खाने औषधी भएकाले दैनिक रूपमा एक गोली सेवन गर्नुपर्ने र एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकाले अन्य यौनजन्य रोगबाट बच्नका लागि कण्डम भने प्रयोग गर्नुपर्ने कार्यालय प्रमुख राउतले बताइन् ।
View : 159
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved