Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सेनाको पशुपति प्रसाद गणद्वारा उदयपुरगढी पदयात्रा

उद्‌घोष सम्वाददाता
१५ कार्तिक २०८१, बिहिवार

उदयपुर । उदयपुरस्थित नेपाली सेनाको पशुपति प्रसाद गणले जिल्लाको महत्वपूर्ण ऐतिहासिक क्षेत्र उदयपुर गढीसम्मको पत्रयात्रा सम्पन्न गरेको छ । उक्त क्षेत्रको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग गर्ने उद्देश्यले गणले पदयात्रा पुरा गरेको जनाइएको छ ।

उदयपुरगढी गाउँपालिकाको नेपालटार बजारबाट उदयपुरगढी दरबारसम्मको पदयात्रा सम्पन्न गरिएको हो ।

पदयात्रामा नेपाली सेना १८ नम्बर बाहिनी भुल्केका बाहिनीपति सहायक रथी गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, प्रहरी उपरीक्षक हरिहरनाथ योगी, शसस्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत लगायत ६० जना सहभागी भएका थिए । पदयात्रा टोलीले ऐतिहासिक उदयपुरगढी परिसरसम्मको ८ किलोमिटर पैदल यात्रा गरेको जनाइएको छ ।

पदयात्रामा रहेका टोलीलाई उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर मगर र उपाध्यक्ष जित बहादुर खड्काले स्वागत गरेका थिए । 

ऐतिहासिक क्षेत्रको महत्व फैलाउन र जनचेतना जगाउन पदयात्रा गरिएको नेपाली सेनाका पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले बताए ।

उदयपुरगढी समुद्री सतहदेखि १ हजार १६० मिटरको उचाइमा अवस्थित छ । उक्त गढीमा विक्रम सम्वत् १३८२ मा उदयचन्द्र नाम गरेका सेनवंशी राजाले शासन गरेको कुरा इतिहासविद्को भनाई छ । उनै उदयचन्द्र सेनको नामबाट नै जिल्लाको नाम पनि उदयपुर रहन गएको दाबी गरिएको छ ।

उक्त स्थानमा अहिलेपनि गढीको भग्नावशेष, शिलालेख, विभिन्न आकृति कुँदिएका ढुङ्गाहरू संरक्षित छन् । जिल्लाकै ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा उदयपुरगढीलाई विकास गर्न यस क्षेत्रका नागरिक समाजले निरन्तर पहल गर्दै आएका छन् ।

View : 129

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved