विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले कांग्रेसले हिन्दु सनातन राष्ट्रको एजेन्डा बोक्नुपर्ने माग राखेका छन् ।
पार्टीको केन्द्रीय समिति वैठकमा लिखित मन्तव्य राख्दै उनले नेपालमा धार्मिक आक्रमणको श्रृङ्खला बढेको र धार्मिक विचलन पनि बढेको भन्दै पार्टीले हिन्दु सनातन राष्ट्रको एजेन्डा अघि सार्नुपर्ने माग गरेका हुन् ।
उनले धर्म संस्कृति र सभ्यतामाथि आक्रमण हुँदा धार्मिक विचलन निम्तिने र त्यसले देशलाई द्वन्द्वमा फसाउने बताए । उनले भनेका छन्, नेपालमा धार्मिक आक्रमणको श्रृङखला बढेको छ । यो रोकिएन, यसो हुनु भनेको हाम्रा धर्म, परम्परा, संस्कृति र सभ्यताको अन्त्य हुनु हो ।
उनको मन्तव्यमा भनिएको छ, ‘जुन देशको धर्म संस्कृति र सभ्यतामाथि आक्रमण हुन्छ त्यसो हुनु भनेको धार्मिक विचलनता निम्तिनु हो । यो विचलनले देश द्वन्द्वमा जान्छ वा जानेवाला छ भन्ने संकेत गर्दछ । यसो हुन नदिन जनताले विश्वास गरेको दल नेपाली कांग्रेसले हिन्दु सनातन राष्ट्रको एजेन्डा बोक्नु पर्छ ।’
सोमबारदेखि ललितपुरको गोदावरीमा शुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमा हिन्दु सनातन राष्ट्रको एजेन्डा समेटिनुपर्ने उनले माग गरेका छन् ।
उनले नेपाली कांग्रेसको महासमितिको बैठकलाई नेपाली जनताले सुक्ष्मरूपले हेरिरहेको र कांग्रेसले गर्ने हरेक निर्णयले देशको दीर्घकालसम्म प्रभाव पार्ने बताए । पराजुलीले भने,
‘अरूले नारा परिवर्तन गरि हिड्छन्, अब कांग्रेसले पारा परिवर्तन गर्नु पर्छ ।’
यसअघि शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दुराष्ट्र नेपालको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर बुझाएका थिए ।
यसैबीच नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ ।
काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा शनिबार आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा गरिएको हो । अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव छन् ।
कांग्रेसभित्र पछिल्लो समय हिन्दुराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ । सोमबारदेखि सुरू हुने महासमितिको बैठकमा पनि सो अभियानका सदस्यहरुले हिन्दुराष्ट्रको एजेण्डा उठाउने तयारी रहेको बताइएको छ ।
View : 550
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved