ग्रामथानमा जनप्रतिनिधि विवाद कायमै
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी र अन्य जनप्रतिनिधिबीच लामो समयदेखिको विवाद अहिलेसम्म पालिकासम्मै सीमित थियो ।
वर्षभरीजसो एकअर्काका गाडीको चाबी खोसाखोस गर्नेदेखि तालाबन्दी गर्ने, बैठक बहिष्कारसम्म सीमित हुँदै आएको विवाद अब जहाँ भेट्यो त्यहीं बल्झिने तहमा उक्लिएको छ ।
बुधबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय नजिकैको सडकमा अध्यक्ष माझी र उपाध्यक्ष गुणवतीदेवी थारूबीच चलेको झगडा सर्वसाधारणले प्रत्यक्ष अनुभव गरेका छन् । उपाध्यक्ष थारूले अध्यक्ष माझी चढेको गाडीको चाबी खोसेपछि उनीहरूबीच सडकमै झगडा परेको हो ।
‘राष्ट्रिय परिचयपत्र लिन भनेर प्रशासन कार्यालय गएको थिएँ, बाहिर सडकमा भीड देखें, के रहेछ भनेर हेरेको, हाम्रो अध्यक्ष र उपाध्यक्षबीच झगडा परेको रहेछ,’ ग्रामथानकै युवा सुशांक दाहालले भने ‘गाडीको निहुँमा दुई जनाले सडकमै धेरैबेर झगडा गरेर रमिता देखाए ।’ अध्यक्ष र उपाध्यक्षबीचको यो घटना यसअघिकै विवादको निरन्तरता हो ।
आफूले भने अनुसार निर्णय गर्न नदिएको भन्दै गएको फागुनमा अध्यक्ष माझीले उपाध्यक्ष चढ्ने गाडीको चाबी खोसेका थिए । वडाध्यक्षहरूको बाइकको चाबी पनि खोसेका थिए । अध्यक्षले चाबी खोसेपछि उपाध्यक्षसहितका एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले अध्यक्षलाई पनि गाडी चढ्न दिएका थिएनन् । सबै जना निजी सवारीमै हिंडिरहेका थिए ।
केही महिना अघि अध्यक्षले काठमाडौं जाँदा गाडी लिएर गएपछि विवाद फेरि सुरू भएको थियो । बुधबार अध्यक्ष माझी आफूले चढ्ने सरकारी गाडी लिएर विराटनगर आएका थिए ।
उपाध्यक्ष थारू पनि विराटनगरमै थिइन् । अध्यक्ष सरकारी गाडीमा आएको खबर पाएकी उनी केही सहयोगीसहित जिल्ला प्रशासनतिर गएकी थिइन् । त्यहाँ पुग्नासाथ अध्यक्षको चालकबाट उपाध्यक्ष थारूले गाडीको चाबी खोसेकी थिइन् । लगत्तै गाडी भएको ठाउँमा अध्यक्ष माझी आइपुगेका थिए ।
‘उपाध्यक्षले चाबी खोसेपछि अध्यक्ष रिसाउँदै आइपुगे, त्यहीं भनाभन सुरू भयो’ घटनाका प्रत्यक्षदर्र्शीहरूले भने ‘विवाद बढेपछि दुई पक्ष हातहाल हुने अवस्था आयो । त्यसपछि हामीले रोक्यौं ।’
यसबारे उपाध्यक्ष थारूलाई प्रश्न गर्दा अध्यक्षले सरकारी गाडी दुरूपयोग गरेको पाएपछि चाबी खोसेको बताइन् ।
‘सरकारी गाडीमा पार्टीका कार्यकर्ता डुलाउने, दुरूपयोग गर्ने गरेको देखेपछि चाबी खोसेकै हुँ,’ उनले भनिन् ‘अब पनि दुरूपयोग भएको पाए खोसिन्छ ।’
अध्यक्ष माझी भने तत्कालीन माओवादीबाट उपनिर्वाचनबाट निर्वाचित भएका हुन् । कांग्रेस र एमालेको बहुमत रहेको कार्यपालिकामा उनको दुवै दलसँग राम्रो सम्बन्ध छैन ।
अध्यक्ष माझीले भने उपाध्यक्षले यसअघि जस्तै पालिकाको काममा भाँजो हालेको, अनावश्यक बखेडा निकालेको आरोप लगाए ।
‘गाउँपालिकाको काममा सधैं भाँजो हाल्ने, निर्णयहरूमा कहिल्यै सहमति नगर्ने, उल्टै विराटनगर पुगेर सडकमा झगडा गर्ने जनप्रतिनिधिको काम होइन’ अध्यक्ष माझीले भने ‘यसरी जनताको काम हुँदैन । मैले उहाँहरूलाई पालिकामै छलफलका लागि बोलाएको छु ।’
View : 221
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved