विराटनगर । मोरङको कटहरी गाउँपालिकामा वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । कटहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा शनिबारबाट तेश्रो संस्करणको वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको कोशी प्रदेश सभा सदस्य भीम पराजुली, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेत र वडाध्यक्ष जदुलाल कामतले संयुक्तरुपमा उद्घाटन गरे । प्रतियोगिताको पहिलो खेल कटहरी–३ र मेरिल्याण्ड क्रिकेट एकेडेमी विराटनगरबीच भएको थियो । सो खेलमा कटहरीले मेरिल्याण्डलाई ७ विकेटले पराजित गरेको छ ।
प्रतियोगितामा कटहरी–३ को २ वटा टिमका साथै झापा, मोरङ, सुनसरीका १४ वटा टिम सहित भारतको कटिहार र फारबिसगञ्जका २ टिम गरी १६ वटा टिमको सहभागिता छ ।
प्रतियोगिताका लागि एस्ट्रो स्टोन क्रिकेट पिच तयार गरिएको वडाध्यक्ष कामतले बताए । यस्तो पिच नेपालमै पहिलो पटक कटहरी–३ मा निर्माण गरिएको वडाध्यक्ष कामतले दाबी गरे ।
प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयले ५ लाख रकम विनियोजन गरेको बताइएको छ । प्रतियोगिताको उपाधि बिजेतालाई २५ हजार नगद तथा शिल्ड पुरस्कार प्रदान गरिनेछ ।
यस्तै उपबिजेतालाई १५ हजार नगद सहित शिल्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फागुन १९ गते हुने तालिका छ ।
View : 197
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved