विराटनगर । निर्वाचन सुरक्षा व्यवस्थापनमा सुरक्षा निकाय केन्द्रित भइरहेका बेला मोरङका सीमावर्ती नाकाहरू तस्करका लागि सुरक्षित थलो बन्दै गएका छन् ।
निर्वाचन प्रहरी भर्ना, तालिम, मतदान स्थल पहिचान, सुरक्षालगायतमा नेपाल प्रहरी र सशस्त्र प्रहरी केन्द्रित भएकाले भारतीय सीमावर्ती क्षेत्रमा तस्करी बढेको स्रोतले बताएको छ ।
भन्सार छलीका सामान आयात गर्ने गिरोहले सुरक्षा निकायको अनुपस्थितिको फाइदा सुरक्षा निकायकै इजाजतमा लिइरहेका छन् ।
दरहिया, इस्लामपुर, मटेरवा, बुधनगर, तरिगामा गोदाम, पोखरिया, डुमरिया, नोचा, खयरवना, रंगेली, हर्चनगढी, छलगाछीलगायतका नाकाबाट मोटर पार्टस, कपडा, मसला, खाद्यन्न र भान्सामा प्रयोग हुने दैनिक उपभोग्य सामग्री खुलेआम तस्करी भइरहेको छ । यी क्षेत्रबाट लागुऔषधको कारोबार पनि बढेको स्थानीय बताउँछन् । नेपालबाट भारततर्फ गाँजा जाने र भारतबाट ब्राउन सुगर तथा प्रतिबन्धित औषधिहरू आउने गरेको छ ।
सीमावर्ती क्षेत्रका बासिन्दाका अनुसार सीमामा सुरक्षा निगरानी खुकुलो बनेको मौका छोपी तस्कर समूहहरू सक्रिय भएका हुन् ।
राति तथा बिहानको समयमा कारोबारीले भरियामार्फत स–साना समूह बनाएर टाउकोमा, साइकल तथा मोटरसाइकलमा सामग्री ओसारपसार गर्दै आएका छन् । कतिपय ठाउँमा तस्करी नियमित व्यापारजस्तै चलेको स्थानीयको भनाई छ ।
‘चुनाव आयो भनेपछि सुरक्षाकर्मीहरू अन्यत्र खटिन्छन्, यही बेला तस्करी ह्वात्तै बढ्छ,’ जहदा गाउँपालिकाका सुरज मण्डलले भने, ‘दैनिक उपभोग्य वस्तु जुन हामीलाई आवश्यक छ तर लागुऔषधकै कारोबार हुँदैछ ।’
लागुऔषधको सेवनको प्रयोग बढेकाले युवामा नकारात्मक प्रभाव बढ्दै गएको बताउने उनले तस्करी नियन्त्रणमा कसैले चासो नदिदा आफूहरू तस्करीको साक्षी मात्र बनेको दुःखेसो पोखे ।
तस्करी बढ्दा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ भने स्वदेशी उत्पादन र स्थानीय व्यवसाय धराशायी बन्दै गएका छन् ।
कारोबारीले राजश्वको नाममा सुरक्षा निकायका प्रतिनिधिलाई भने सामान्य रकम बुझाउँदै आएको स्रोतको दाबी छ ।
कानुनी रूपमा कर तिरेर व्यापार गर्ने व्यवसायी मारमा पर्दा अवैध सामानले बजार कब्जा गर्न थालेको छ ।
स्थानीय तह र सरोकारवालाहरूले निर्वाचन सुरक्षा सँगै सीमामा कडा निगरानी, नियमित गस्ती र तस्करीमा संलग्न समूहविरुद्ध तत्काल कारबाहीको माग गरेका छन् । तर, सम्बन्धित निकायको मौनताले तस्करहरू अझै हौसिएका देखिन्छन् ।
सीमा खुकुलो हुँदा निर्वाचनको मुखमा हातहतियार र विष्फोटक पदार्थ नै भित्रन सक्ने कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी बताउँछन् ।
‘जेन जी आन्दोलतपछि जनपद प्रहरीको मनोवल खस्किएको छ, वीरगञ्जमा सशस्त्र प्रहरीमाथि नै आक्रमण भयो’ अध्यक्ष चौधरीले भने, ‘खुल्ला सीमामा योजना बनाएर कडाइ गरिएन भने निर्वाचनलाई नै प्रभाव पर्न सक्छ ।’ सुरक्षा निकायको मनोबल उच्च बनाउन स्थानीय सरकारले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सक्ने उनको भनाई छ ।
यदि समयमै प्रभावकारी कदम चालिएन भने निर्वाचन सकिएपछि पनि सीमामा अवैध कारोबार मौलाउने र यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र तथा सुरक्षामै पर्ने चेतावनी उनले दिए ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे निर्वाचनमा समस्या आउन सक्ने सम्भावना भएरै सीमावर्ती क्षेत्रमा भारतीय समकक्षीहरूसँग समन्वय जारी राखेको बताए ।
‘सबै जिल्लाका युनिट प्रमुखहरूले काउण्टरपार्टसँग सहकार्य गरेर बोर्डर निगरानी गर्दैछन्’ उने भने, ‘यो बेला हातहतियार र विष्फोटक वस्तु पनि आउन सक्ने भएकाले सर्तकता अपनाएका छौं ।’
View : 155
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved