विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा निर्वाचित बलराम गिरी (नवीन) ले नेतृत्व चयनका क्रममा प्रतिस्पर्धा भएपनि हारजितको कुरालाई बिर्सिएर एकै ढिक्का भएर अघि बढ्ने बताएका छन् ।
महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका गिरी नेतृत्वको कमिटीले शनिबार सपथ ग्रहण गरेको छ ।
सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले महानगर कमिटीलाई अझ गतिशीलता प्रदान गर्न आफूले सकेसम्मको प्रयास गर्ने बताए ।
उनले महानगर कमिटीका निवर्तमान अध्यक्ष रोहित कोइरालाको पनि सल्लाह उत्तिकै आवश्यक रहेको भन्दै कोइरालालाई पनि साथै लिएर अघि बढ्ने बताए ।
निर्वाचनका क्रममा संस्थापन र इतर पक्षका नाममा गरिएको प्रचारप्रति उनले असहमति जनाए ।
‘म पनि केपी ओली पक्षकै उम्मेदवार हुँ, रोहित कोइराला पनि केपी ओली पक्षकै हो, अनि कसरी कोही संस्थापन र कोही इतर पक्ष भयो ?’ पार्टी कार्यालय पाञ्चालीमा आयोजित सपथ ग्रहणमा उनले भने, ‘पार्टीमा इतरपक्ष कोही छैन सबै संस्थापन हौं, सबै एक ढिक्का भएर अघि बढ्छौं ।’
सपथग्रहण समारोहमा एमाले केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, मोरङ सचिव सोमराज थापा, महानगर इञ्चार्ज पर्शुराम बस्नेत लगायतले नवनिर्वाचित कमिटीलाई शुभकामना दिएका थिए ।
View : 428
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved