विराटनगर । नेपालको दोस्रो पुरानो र ऐतिहासिक सामाजिक संस्था रोटरी क्लब अफ विराटनगरको आगामी वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। शनिबार पिपलचोकमा सम्पन्न क्लबको वार्षिक साधारण सभाले शिक्षाविद् शिवप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
रोटरीको गौरवमय इतिहासमा ५० औँ वर्ष अर्थात् 'स्वर्ण वर्ष' को नेतृत्व गर्ने अवसर अधिकारीले प्राप्त गरेका छन्। यस क्लबको पहिलो नेतृत्व पूर्वप्रधानमन्त्री स्व. नगेन्द्र रिजालले गरेका थिए। नवनिर्वाचित अध्यक्ष अधिकारी विराटनगरस्थित नमुना विद्या मन्दिरका संस्थापक प्राचार्य हुन् र उनी लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशील छन्।
रोटेरियनहरू बेनीगोपाल मुन्दडा, ताराचन्द खेतान र बिन्दिया कार्की सम्मिलित निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो।
यस्तो छ नयाँ कार्यसमिति
घोषित नयाँ समितिमा प्रस्तावित सभापतिमा विनिता धाडेवा, प्रथम उपाध्यक्षमा दिनेश गड्तौला, सचिवमा नन्ददीप अग्रवाल र सहसचिवमा दीपक गौतम छन्। त्यस्तै, कोषाध्यक्षमा सीएम रिजाल र सह–कोषाध्यक्षमा प्रवीण अग्रवाल चयन भएका छन्।
क्लबको अन्य महत्वपूर्ण जिम्मेवारीहरूमा सचेतकमा प्रभु तोदी, सेवा समिति संयोजकमा सौरभ पोखरेल, सदस्यता विकासमा नरेश राठी, क्लब प्रशासनमा डा अंकिता राठी, जनसम्पर्कमा अमिश रेग्मी, रोटरी कोष संयोजकमा राजकुमार शर्मा, युवा समितिमा अमित सिंघल र क्लब सम्पादकमा प्रमोद जिन्दल छन्।
विशेष संयोजक र सल्लाहकारहरू
सभाले आदर्श पुस्तकालय संयोजकमा सुरेन्द्र गोल्छा, क्लब प्रशिक्षकमा बद्री कटुवाल र कमल अग्रवाल तथा महिला सशक्तीकरण संयोजकमा बिन्दिया कार्कीलाई चयन गरेको छ। क्लबको मार्गदर्शनका लागि 'क्लब मेन्टर' का रूपमा पूर्व अध्यक्षहरू बेनीगोपाल मुन्दडा, प्रा.डा. बिजु थपलिया, विनोद अग्रवाल र कविन श्रेष्ठलाई तोकिएको छ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र असहायहरूको सेवाका लागि विशेष योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा निर्वाचन समितिका ताराचन्द खेतानले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। शिव अधिकारीको नयाँ नेतृत्वले आगामी २०८३ असारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।
View : 457
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved