विराटनगर । विराटनगरमा गाँजा बरामद भएको गाडीबाट अस्पतालको नाम हटाएको आरोपमा प्रहरीले रोहित यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका यादव महेन्द्र मोरङ क्याम्पसका स्ववियू सभापति रोहित यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१४ निवासी २८ वर्षीय यादवलाई सोमबार पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले सात दिनको म्याद थप गरी अनुसन्धान समेत अघि बढाएको छ ।
प्रहरीका अनुसार को १ च ६६२० नम्बरको ‘दिव्य ज्योती अस्पताल प्रालि’ लेखिएको मारुती भ्यानबाट ५० किलो २९० ग्राम गाँजा बरामद भएपछि उक्त गाडी इलाका प्रहरी कार्यालय रानी विराटनगरको परिसरमा राखिएको अवस्थामा बाहिरबाट अनधिकृत रूपमा प्रहरी परिसरभित्र प्रवेश गरी गाडीमा टाँसिएको ‘दिव्य ज्योती अस्पताल प्रालि’ को स्टिकर हटाइएको थियो ।
प्रहरीका अनुसार अस्पतालको नाम लेखिएको स्टिकर हटाउने कार्यमा संलग्न रहेको आरोपमा यादवलाई सोमबार पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरीले भ्यान नियन्त्रणमा लिँदा गाडीमा ‘दिव्य ज्योती अस्पताल प्रालि’ लेखिएको स्टिकर देखिएको थियो । तर, पछि प्रहरी नियन्त्रणमा रहेको अवस्थामा सार्वजनिक तस्वीरमा उक्त स्टिकर नदेखिएपछि प्रमाण हटाइएको भन्दै प्रहरी माथि नै प्रश्न उठेपछि इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रविण घिमिरेले नै स्पष्टिकरण खानु परेको थियो ।
घिमिरेले स्पष्टीकरण बुझाइसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यस घटनामा गाँजा ओसारपसारमा प्रयोग भएको गाडीको वास्तविक सम्बन्ध, अस्पतालको नाम तथा लोगो गाडीमा कसरी प्रयोग भयो र प्रहरी नियन्त्रणमा पुगेपछि स्टिकर कसरी हटाइयो भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा यादवको संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
दिव्य ज्योती आँखा अस्पतालका अध्यक्ष देवा यादवले भने उक्त गाडी अस्पतालको नभएको बताएका थिए ।
View : 492
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved