Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योग वाणिज्य महासंघ कोशीको चुनाव आज, अध्यक्षमा राउत र रिजाल आमनेसामने

उद्‌घोष संवाददाता
२२ चैत २०८२, आइतवार

विराटनगर । उद्योगी–व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुँदैछ । महासंघको ८ औं प्रदेशसभा आइतबार विराटनगरमा हुँदैछ । प्रदेशसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । 

महासंघ कोशीको अध्यक्ष बन्न यसपटक विराटनगरका दुई जना चर्चित उद्योगीहरु चुनावी प्रतिष्पर्धामा उत्रने तयारीमा छन् । 

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र महासंघकै केन्द्रीय सदस्य नवीन रिजाल अध्यक्षको उम्मेदवार बन्ने तयारीमा छन् । 

दुवै जनाले एक महिनाभन्दा लामो समयदेखि प्रदेशभरी चुनावी अभियान चलाइरहेका छन् । 

निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार दिउँ्रसो १ बजे उम्मेदवारी मनोनयन दर्ता हुनेछ । 

बेलुकी ६ बजेदेखि ८ बजेसम्म मतदान हुनेछ भने मतदान सकिएपछि मतगणना र परिणाम घोषणा हुनेछ । निर्वाचन कार्यक्रम अनुसार महासंघ कोशीले आइतबार राति अबेरसम्ममा नयाँ कार्यसमिति पाउने छ । 

अध्यक्षका आकांक्षीहरु राउत र रिजाल दुवैले आ–आफ्नो प्यानल बनाएर प्रतिष्पर्धा गर्दैछन् । यी दुई उद्योगीबीचको चुनावी प्रतिस्पर्धा नयाँ भने होइन । 

झण्डै आठ वर्षअघि मोरङ व्यापार संघको निर्वाचनमा पनि उनीहरू फरक–फरक प्यानलबाट भिडेका थिए, जहाँ रिजाल पक्ष विजयी बनेको थियो । 

यसपटक राउत पुरानो हारको बदला लिने योजनामा हुँदा रिजाल भने पुरानै सफलता दोहो¥याउने लक्ष्यमा हुनेछन् ।

महासंघभित्र सधैं झैं यसपटक पनि समूहगत ध्रुवीकरण प्रष्ट देखिंदै आएको छ । हालका अध्यक्ष राउत महासंघ केन्द्रीय अध्यक्ष चन्द्र ढकाल निकट समूहका हुन् भने रिजाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पक्षसँग नजिक छन् ।

शिवम् अर्गनाइजेशनका अध्यक्ष राउतले महासंघ कोशीमा उपाध्यक्ष र अध्यक्षका रुपमा काम गर्दा संस्थालाई गतिशील तुल्याउन भूमिका खेलेका छन् । 

प्रदेशभरिका उद्योग वाणिज्य संघहरूलाई सक्रिय बनाउने र समन्वय गरेका उनले उद्योगी व्यवसायीको हकहितमा भूमिका निर्वाह गरेको जस पनि पाउने गरेका छन् । 

खासगरी कोरोना महामारीका बेलामा  ग्रामीण क्षेत्रमा अक्सिजन र औषधि पु¥याउन उल्लेख्य भूमिका निर्वाह गरेका थिए । 

अहिले बुढीगङ्गामा निर्माणाधीन महासंघको भवन निर्माण समितिको नेतृत्व पनि उनैले सम्हालिरहेका छन् । 

महासंघलाई उद्योगी व्यवसायीको हकहितमा अझै सक्रिय तुल्याउन, निजी क्षेत्रको हित प्रवद्र्धनका लागि भूमिका निर्वाह गर्न, महासंघको अधुरो भवन पूरा गर्ने लगायतका एजेन्डा लिएर उनी चुनावी मैदानमा छन् । 

मोरङ व्यापार संघका निवर्तमान अध्यक्षसमेत रहेका अध्यक्षका अर्का उम्मेदवार रिजाल रिजालको समूहका प्रमुख हुन् । 

उनले व्यापार संघको आफ्नो कार्यकालमा व्यवसायीका मुद्दालाई सडकसम्म पु¥याएर दबाब सिर्जना गरेको जस पाउने गरेका छन् । 

बैंक ब्याजदर वृद्धि, फलाम उद्योगमा लगाइएका कर तथा भन्सारका विषयमा आन्दोलन गरेका उनले निजी क्षेत्रको सुविधाका लागि नीतिगत सुधार गर्न दबाबकारी भूमिका निर्वाह गरेका थिए । 

यसपटक पनि रिजालले उद्योगी व्यवसायीको हितका लागि महासंघमार्फत पहल गर्ने, औद्योगिक वातावरण निर्माणका लागि पहल र दबाब सिर्जना गर्ने लगायतका मुद्दालाई चुनावी एजेन्डा बनाएका छन् ।  

महासंघ कोशीमा हुन लागेको निर्वाचनमा कूल २०५ जना मतदाता हुनेछन् । 

जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । 

१ जना अध्यक्ष, ३ जना उपाध्यक्ष (जिल्ला–नगर, वस्तुगत र एसोसिएट) र १ जना कोषाध्यक्ष गरी ५ जना पदाधिकारी छानिने छन् । 

त्यस्तै जिल्ला–नगरबाट ५ जना सदस्य, वस्तुगतबाट २ र एसोसिएटतर्फबाट २ जना सदस्य छानिने छन् । यसरी आइतबार हुने निर्वाचनबाट महासंघको १४ सदस्यीय प्रदेश समिति छानिनेछ ।

View : 211

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved