विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले वर्तमान सरकार गठन असंवैधानिक भएको भन्दै संविधानको जगमा टेकेर नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् ।
एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै राईले असंवैधानिक रुपमा बनेको सरकार र सरकारले बनाएका कुनै पनि आयोगहरूलाई एमालेले स्वीकार नगर्ने बताए ।
उनले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै नहुने चुनावमा एमालेले भाग लिन्छु भन्नु उपयुक्त नहुने बताए । एमालेले चुनावभन्दा पनि अब ठूला ठूला जनप्रदर्शनमा केन्द्रित भएको जानकारी दिए ।
‘यो असंवैधानिक सरकार हो, असंवैधानिक सरकार र आयोगलाई अस्वीकार गर्दै एमाले संसद पुनस्र्थापनाको माग गरिरहेको छ’ स्थायी कमिटी सदस्य राईले भने, ‘अब संविधानको जगमा नयाँ सरकार र नयाँ आयोग गठन गरौं, यो सरकार निर्वाचन गराउन बनेको सरकार होइन, संविधान खारेज गर्न र एमाले–कांग्रेस लगायतका दललाई सिध्याउन बनेको सरकार हो, नहुने चुनावमा भाग लिन्छु भन्नु उपयुक्त छैन ।’
जेनजीहरूले भ्रष्टाचारको विरोध र सुशासनको माग गरेको, सामाजिक सञ्जालमा लागेको प्रतिवन्ध सरकारले खुकुलो पार्न लागेको अवस्थामा उनीहरूको शान्तिपूर्ण आन्दोलनलाई हाइज्याक गरेर केही घण्टामै मुलुकलाई आगजनीमा परिणत गरिएको उनले आरोप लगाए । त्यस कार्यमा देशी विदेशी शक्तिले सुनियोजित रुपमा घुसपैठ गरेर विद्यार्थीहरूको हत्या गरेको उनले जिकिर गरे ।
एमालेले त्यसका विरुद्ध कोशी प्रदेशबाट आन्दोलन र अभियान सुरु गरेको नेता राईले बताए । मंगलबार धरानमा बसेको पार्टीको जनसंगठन संयन्त्रको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लामा चरणवद्ध अभियान सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
‘कोशीबाट अभियान सुरु गरेका छौं, सवा लाख कार्यकर्ता परिचालन गर्छौं, ठूला ठूला जनप्रदर्शनको तयारी गर्दैछौं’ राईले भने, ‘जेनजी आन्दोलनमा सरकारी कार्यालय, मुलुकका सम्पदा, राजनीतिक दल, नेताहरू, घर र सम्पति माथि तोडफोड भयो, सवै कुराको हिसाव किताब राखेका छौं, एक जनालाई पनि छोड्दैनौं, संलग्नलाई कारवाहीको दायरामा ल्याउने अठोट गरेका छौं ।’
पार्टीभित्र अब असाधारण एकता कायम हुने नेता राईले दाबी गरे । उनले एमालेलाई सुदृढ शक्तिका रुपमा निर्माण गरिने र त्यसका लागि महाधिवेशनमै गएर पार्टी पुनर्गठन गरिने बताए ।
उनले पार्टी पुनगर्ठनको मतलब नेतृत्व फेर्ने विषयसँग मात्रै नजोडिने बताए ।
राईले कात्तिक २५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लामा मोटरसाइकल र्यालीदेखि जिल्ला कमिटीको विस्तारित बैठक लगायतका गतिविधि गरिने जानकारी दिए ।
View : 307
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved