Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

नेपाली चलचित्र चलेकै बेला ‘अग्निदहन’ प्रदर्शनको तयारीमा

उद्घोष सम्वाददाता
३० कार्तिक २०८१, शुक्रवार

विराटनगर । सामाजिक कथाहरूले नेपाली सिनेमाका पर्दामा दर्शक केन्द्रीत भइरहेकै बेला आगामी मंसिर ७ देखि अर्को नेपाली चलचित्र ‘अग्निदहन’ को टिम देशव्यापी चलचित्र प्रवर्द्धनमा जुटेको छ । 

ट्रेलर सार्वजनिकपछि निर्माता, निर्देशकदेखि कलाकारसम्मको टोली व्यवसायिक रिलिज अघि उत्साहित बनेर चलचित्रको प्रवर्द्धनमा बिहीबार विराटनगर आइपुगेको हो ।

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ को कथामा आधारित बनाएर तयार पारिएको यो चलचित्रको सचेतनामुलक प्रदर्शनपछि व्यवसायिक प्रदर्शन गर्न लागिएको ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका संरक्षक एवं लगानीकर्ता मनुराज पौडेलले बताए । 

समाजमा व्याप्त बोक्साबोक्सी जस्तो कुप्रथाविरुद्ध जागरण गराउने उदेश्यले सात बर्ष अघि नै निर्माण गरिएको यो चलचित्रलाई अहिले व्यवसायिक प्रदर्शन गर्न लागिएको हो ।

‘अहिले नेपाली सिनेमाले दर्शकलाई हलमा तानेको समय छ, नेपालकै सिनेमा चलेको समय छ’ पौडेलले भने, ‘हामीले अर्गानिक चलचित्र बनाएर दर्शकहरूलाई छाडिदिन लागेका छौं, राम्रो चलचित्र बनाएको विश्वास गरेका छौं ।’

उपत्यकाबाहिर चलचित्र प्रवद्र्धनका लागि विराटनगरमा अन्तिम यात्रा गरेको चलचित्रको टोलीमा सहभागी निर्देशक घनश्याम लामिछानेले आयातित र प्रभावित कथामा बनेका सिनेमाको युगलाई अग्निदहनले नयाँ बाटो दिने बताए । चलचित्रको विशेष प्रदर्शन सकेर व्यवसायिक रुपमा प्रदर्शन सुरु हुन लागेकोले ‘नेपाली सिनेमा चल्छ’ भन्नेमा विश्वास दर्शकहरूकै हातमा छाडिदिएको बताए । 

‘धमाधम नेपाली सिनेमा चलेकै बेलामा यो सिनेमा आएको छ, हाम्रो सिनेमा पनि चल्छ भन्नेमा आशावादी छु ।’ उनले भने ।

चलचित्रमा प्रमुख भूमिकामा रहेका कलाकार प्रकाश घिमिरेले आफ्नो कलाकारिताको यात्रामा यो चलचित्र टर्निङ बन्नसक्ने बताए । उनले अग्निदहन चलचित्रले नेपाली समाजलाई पर्दामा उतार्न पर्याप्त योगदान गरेको बताए ।

चलचित्रमा प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा. निर्मल लामिछाने, ताराबहादुर गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको जनाइएको छ । 

यो चलचित्रले व्यवसायिक प्रदर्शन अगावै २०७५ सालमा चलचित्र विकास बोर्डबाट विशेष चलचित्र अवार्ड प्राप्त गरिसकेको छ ।

बोक्साबोक्सी प्रथालाई सशक्त रुपमा पर्दामा उतारेका कारण चलचित्रलाई भोजपुरी र मैथिलि भाषा पनि डबिङ सम्पन्न भएको छ । त्यस्तै अहिले हिन्दी भाषामा समेत डबिङ भइरहेको जनाइएको छ ।

View : 53

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved