विराटनगर । नेपाली कांग्रेसले कोशी सरकारमा सहभागी बन्नुअघि नै प्रदेशको मुख्यमन्त्री पदमा आलोपालोको विषय टुंग्याउन एमालेसँग प्रस्ताव गरेको छ । कांग्रेस शीर्ष नेतृत्वले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो प्रस्ताव गरिसकेको र यसबारे तत्कालै निर्णय हुने कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।
कोशीको मुख्यमन्त्री पदमा आलोपालोको विषय टुंग्याउन र प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम फाइनल गर्न सभापति शेरबहादुर देउवाले प्रदेशका नेताहरुलाई मंगलबार अचानक काठमाडौं बोलाएका छन् । त्यसअघि दुई सातासम्म काठमाडौं बसेर प्रदेश फर्केका प्रदेश सभापति एवम् दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपाल तामाङ लगायतका नेताहरु मंगलबार नै काठमाडौं पुगेका छन् ।
केन्द्रीय सदस्य भीम पराजुली, दलका उपनेता हिमाल कार्की, प्रदेशका महामन्त्री भूपेन्द्र राईलगायतका नेताहरु काठमाडौंमै छन् । ‘महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै सभापतिज्यूले बोलाएपछि हामी आजै काठमाडौं आइपुगेका छौं’, प्रमुख सचेतक गोपाल तामाङले मंगलबार उद्घोषसँग भने ‘विभिन्न छलफल चरणबद्ध रुपमा सुरु भएको छ । हेरौं, के निर्णय हुन्छ ।’
प्रमुख सचेतक तामाङले विषयबारे खुलाउन नचाहे पनि कांग्रेस प्रदेशका महामन्त्रीसमेत रहेका सांसद भूपेन्द्र राईले आलोपालो टुंग्याउने विषयमा कांग्रेसले प्रस्ताव गरेको र ‘आजभोलि नै विषय टुंगो लाग्ने’ तय भएको जानकारी दिए ।
‘संघ र अन्य प्रदेश सरकारमा जस्तै कोशीको मुख्यमन्त्री पदमा पनि कांग्रेस र एमालेको आलोपालो हुन्छ, हुनुपर्छ’, नेपाली कांग्रेस कोशीका संसदीय दलका पूर्व प्रमुख सचेतकसमेत रहेका राईले भने ‘त्यो विषयमा केन्द्रमा छलफल सुरु भएको छ । उनका अनुसार यो विषय टुंगो लाग्नासाथ कांग्रेस कोशी सरकारमा सहभागी बन्नेछ ।
नयाँ गठबन्धन निर्माण गरेर सत्ता सहयात्रा थालेका संसद्का दुई ठूला दल कांग्रेस र एमालेले केन्द्रदेखि प्रदेशसम्मै शक्ति बाँडफाँट गर्ने सहमति गरिसकेका छन् । सहमति कार्यान्वयन सुरु भइसकेको छ । असार १७ मा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको ७ बुँदे सहमतिकै आधारमा ओली प्रधानमन्त्री बनेर विश्वासको मत पाइसकेका छन् ।
प्रदेशहरुमध्ये बागमतीमा कांग्रेसकै बहादुरसिंह लामा मुख्यमन्क्री नियुत्त भएका छन् भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री भइसकेका छन् ।
कोशी प्रदेशमा अहिले एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । माओवादीको समर्थनमा तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका कार्कीको पद कोशीमा तत्काललाई सुरक्षित हुने सुनिश्चितता ७ बुँदे सहमतिले गरिसकेको छ । तर, उनको कार्यकाल कहिलेसम्म हुने र कांग्रेसले प्रदेश सरकारको नेतृत्व कहिलेबाट पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।
‘सभापतिज्यूले प्रधानमन्त्रीलाई त्यो प्रस्ताव गरिसक्नुभएको छ । आजभोलि नै यो कुरा फाइनल हुने कुरा छ’, कांग्रेस कोशीका अर्का एक नेताले भने ‘बुधबार प्रदेशका नेताहरुको टोली र सभापतिबीच छलफल हुँदैछ । त्यसबेला यसबारे केही निर्णय आउला ।’ ती नेताका अनुसार उक्त छलफलपछि कोशी सरकारमा पठाउने मन्त्रीहरुको सूची पनि तयार हुनेछ ।
कांग्रेस नेताहरुले जनाए अनुसार प्रदेशमा मुख्यमन्त्री पाउने दलले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने र सहयात्री दलले पाँच मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको बताइएको छ । ‘हामीले अहिले पाँच वटा मन्त्रालय लिने हो’, कांग्रेस नेताहरुले भनेका छन् ‘ आलोपालोमा हामीले मुख्यमन्त्री लिएपछि एमालेले पाँच मन्त्रालय लिन्छ ।’
कांग्रेसले पाँच मन्त्रालयमा दाबी गरिरहेका बेला पार्टीभित्र आकांक्षीहरुको भने लर्को लागेको छ । आकांक्षीहरु धेरै भएकै कारण यसअघि काठमाडौं पुगेका प्रदेश नेताहरुलाई ‘यसबारे पछि निर्णय गरौंला’ भन्दै केन्द्रका नेताहरुले उनीहरुलाई विराटनगर फर्काएका थिए । तर, उनीहरु प्रदेश आइपुगेको दुईदिन नबित्दै फेरि काठमाडौं बोलावट भएको हो ।
‘अब आलोपालो र मन्त्रीबारे टुंगो लाग्छ’, कांग्रेस केन्द्रका एक पदाधिकारीले भने ‘बुधबारसम्ममा कोशीबारे टुंगो लगाउने कुरा छ । मुख्यमन्त्रीमा आलोपालो हुने कुरा हजार प्रतिशत कन्फर्म छ ।’
मंगलबार मात्रै वागमती प्रदेशमा कांग्रेस र एमालेबीच २०–२० महिना मुख्यमन्त्री लिने सहमति भइसकेको छ । ‘कोशीमा पनि सोही ढंगले सहमति हुनेछ’, कांग्रेस नेताहरुले भने ‘सम्भवतः बुधबार यसको टुंगो लाग्नेछ ।’ एमाले नेता कार्की गएको बैशाख २७ मा तेस्रोपटक मुख्यमन्क्री नियुत्त भएका थिए ।
कांग्रेस र एमालेबीच तीन–तीन वटा प्रदेश बाँड्ने सहमति अनुसार कोशी एमालेकै भागमा परेको छ । तर, संघ र अन्य प्रदेशमा जस्तै कोशीमा पनि मुख्यमन्त्री पदमा आलोपालो हुने र त्यसको विषय तत्कालै टुंग्याउनु पर्ने कांग्रेसले जनाएको छ ।
‘आलोपालोको निर्णय नभएसम्म कोशी सरकारमा नजाने भन्ने हामी प्रदेशका नेताहरुको अडान छ’, हाल काठमाडौंमा रहेका कांग्रेस कोशीका एक नेताले भने ‘सभापतिज्यूले पनि त्यसै भन्नुभएको छ । यसबारे छिट्टै टुंगो लगाउने भन्ने छ ।’
View : 146
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved