मन्तव्य राख्दै पूविका उपकुलपति प्राडा बिजु थपलिया
कार्यक्रममा बोल्दै प्रमुख वक्ताहरू प्राडा राधेश्याम प्रधान र प्राडा नवराज कँडेलले पूविको एमफिल कार्यक्रमको गुणस्तरको सराहना गरे । प्राडा कँडेलले त पूविको एमफिल कार्यक्रम भौतिक कक्षा, नियमित परीक्षा र गुणस्तरीय शिक्षाका दृष्टिले नेपालकै सबैभन्दा राम्रो रहेको दाबीसमेत गरे। उनका अनुसार, पूविको एमफिल १ नम्बरमा आउँछ।
लिखित, अन्तर्वार्ता र सामूहिक छलफलबाट छनोट भई भर्ना भएका २० जना नयाँ विद्यार्थीहरूका लागि आयोजित यस कार्यक्रममा पूविका उपकुलपति प्राडा बिजु थपलियाले पूविमा एमफिल कार्यक्रम सुरु गर्दाका अनुभवहरू सुनाउनुभएको थियो। प्राडा थपलियाले पूवि एमफिल पीएचडी कार्यक्रमका प्रथम निर्देशकका रूपमा समेत कार्य गरेका थिए ।
सो कार्यक्रमका पूर्व निर्देशक एवम् हाल पूवि अनुगमन तथा मूल्याङ्कन केन्द्रका निर्देशक प्राडा उत्तमकुमार रेग्मीले हालको सातौँ ब्याचसहित पूविमा एमफिल अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ११९ पुगेको जानकारी दिए ।
नयाँ भर्ना भएका २० जना विद्यार्थीहरू काठमाडौं, नारायणगढ, इटहरी, धरान, विर्तामोड र दमक लगायतका विभिन्न स्थानबाट आएका छन्। उनीहरूमध्ये दुई जना छात्रा छन् र उनीहरुले वित्त तथा व्यवस्थापन मध्य एक विषयमा एमफिल गर्नेछन्।
पूवि व्यवस्थापन क्याम्पस (पुसोम) मा सम्पन्न भएको सो कार्यक्रममा पूवि व्यवस्थापन सङ्कायका डीन डा सन्देशदास श्रेष्ठले नयाँ भर्ना भएका विद्यार्थीले चाँडै जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशन गरेको हेर्न पाऊँ भन्दै शुभकामना दिए। पुसोमका निर्देशक डा रमाकान्त दासले विश्वविद्यालयको गरिमालाई उचाइमा लैजानका लागि आफू सधैँ संवेदनशील रहेको बताए । पूवि एमफिल तथा पीएचडी कार्यक्रमका निर्देशक प्राडा जीवनकुमार ढकालले पूवि व्यवस्थापन सङ्कायमा हाल पीएचडीका लागि ८ जनाले आफ्नो अनुसन्धान कार्य गरिरहेको र इच्छुक नयाँ विद्यार्थीका लागि छिट्टै आवेदन खुलाइने जानकारी दिए ।
View : 3149
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved