Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी आन्दोलनले सड्यो आलु र प्याज

उद्‌घोष संवाददाता
१ असोज २०८२, बुधवार

विराटनगर । जेनजीको आन्दोलनले भन्सार पास नहुँदा ठुलो परिमाणमा आलु र प्याज नष्ट भएको छ । यसको असर आगामी दशैंमा भान्सामा प्रत्यक्ष देखिने भएको छ । 

पाँच दिन भन्सार कार्यालयमै ट्रक रोकिएकाले आलु र प्याज गाडीमै धेरै नष्ट भएको व्यवसायीहरूले बताएका छन् । भन्सार कार्यालयमै अराजक समूहले आक्रमण गरेपछि कर्मचारीले ज्यान जोगाउन लुक्नुपरेको थियो । 

विराटनगर भन्सार नाका हुँदै आलु र प्याज आयात गर्दै आएका व्यवसायी पशुपति भगतका अनुसार एक दाना कुहिएको आलु समयमै बोराबाट निकाल्न पाइएन भने त्यसले एक किलो र किलोले एक मन बिगार्छ ।

आलु जस्तै प्याज पनि सम्वेदनशील हुने भएकाले कुहिएको तत्काल छान्नुपर्ने हुन्छ । एक ट्रकमा कुहिएको दाना छान्न छोटो समयमा सम्भव छैन । 

व्यवसायीहरु अहिले कुहिएका आलु र प्याज छान्नमा तल्लिन छन् । भगत आफूले मात्रै आयात गरेको आलु र प्याजमा करिव ५० लाखको क्षति भएको हुन सक्ने अनुमान लगाउँछन् । अन्य व्यवसायीले आयात गरेको वस्तुमा भएको क्षति अझ बढी हुन सक्ने अनुमान छ । 

भगत विराटनगरमा भारतबाट दैनिक ५ ट्रक आलु र प्याज आयात गर्ने ठुला व्यवसायीमा पर्छन् । अरु व्यवसायीले भने विराटनगरमा न्युन आयात गर्दै आएका छन् । 

बन्दका क्रममा आङ्खना ८ वटा ट्रक भंसारमा रोकिएको उनी बताउँछन् । एक ट्रकमा आलु वा प्याज ६ सय ८० बोरासम्म लोड गरिएको हुन्छ । 

आयात गरिएको सामानको क्षति भए व्यवसायीले सामान्य मात्रै मुल्यवृद्धि गरे भने उपभोक्ताको भान्सासम्म पुग्दा त्यसको मुल्यमा बढी फरक पर्ने गरेको छ ।

व्यवसायीका अनुसार आयातकर्ताले एक किलोमा एक रुपैयाँ मुल्य बृद्धि गर्ने हो भने थोक बिक्रेताले २ रुपैयाँ बढाउँछ । त्यसपछि खुद्रा बिक्रेताले ५ रुपैयाँ बढाएर बिक्री गर्छन् । उपभोक्ताको भान्सामा पुग्दा १० रुपैयाँको अन्तर हुन सक्छ । 

विराटनगर भंसारका प्रमुख उमेश श्रेष्ठ भने भंसार परिसरमा ट्रक रोकिएका कारण आलु र प्याजमा क्षति भएको आफूले जानकारी नपाएको बताउँछन् ।

निर्यातका लागि भन्सारमा लगिएको एक गाडी बन्दाकोबी भने क्षति भएको आफूले जानकारी पाएको उनले बताए । आन्दोलनकारीले विराटनगर आईसीपीमा कार्यालयका गाडी जलाएर कागजातहरूमा क्षति पुरयाएका थिए ।

मुद्दा प्रकृयामा रहेका बरामद वस्तुहरु राति आएको अराजक समूहले लुटपाट गरेको थियो । 

कोशी प्रदेशमा विराटनगर, मेची र भद्रपुर भंसार कार्यालयमा आन्दोलनकारीले क्षति पुर्याएका थिए भने सेतुबन्द भंसार सुनसरी भने सुरक्षित रहन सफल भएको छ ।

आन्दोलनकारीको निशानामा सुरक्षाकर्मी परेकाले उनीहरू ब्यारेक भित्र लुक्न बाध्य हुँदा भंसार छलीको कारोबारीहरू चलायमान भए । 

मोरङको सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी तैनाथ नभएको बेला तस्करीका सामान ओसारपसार भएको स्थानीयले बताएका छन् । 

सीमावर्ती धेरै ठाउँमा तस्करीका सामान जम्मा गरिएको र बिस्तारै बजारसम्म पुर्याउने गरिएको बताइएको छ । भदौ २४ गतेको आन्दोलनको घटनापछि हालसम्म पनि सुरक्षाकर्मी सबै ठाउ“मा तैनाथ भइसकेका छैनन् ।

भगतको गोदाममा आलु र प्याज छानिदै । तस्वीर : उद्घोष

View : 288

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved