Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

रास्वपा कोशी प्रदेशका महामन्त्री थापा निलम्वित

उद्घोष सम्वाददाता
९ फागुन २०८०, बुधवार

सुनसरी । इटहरीको जनता माध्यमिक विद्यालयलाई जग्गा भाडा बापत तिर्नुपर्ने करिब ४६ लाख बढी पैसा नतिरेपछि विवादित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका महामन्क्री लालवित्रम थापालाई पार्टीले कारबाही गरेको छ ।

थापाले विद्यालयलाई ३ वर्ष ७ महिनाको ४६ लाख २२ हजार ५ सय जग्गा भाडा बापतको रकम तिर्नुपर्ने देखिन्छ । तर भाडा बापतको रकम नतिरी अटेर गर्दै आएका थापालाई रास्वपा कोशी प्रदेशले कारबाही गर्दै जिम्मेवारीबाट हटाएको हो ।

पार्टीले जिम्मेवार बनेर सकेसम्म आफै मुद्दालाई किनारा लगाउन सुझाव दिंदा नटेरेको र पार्टीको फेसबुक पेज दुरुपयोग गरेको आरोपमा उनीमाथि कारबाही गरिएको सो पार्टीले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

रास्वपाका कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले प्रेस विज्ञप्ति प्रकाशित गरी जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन् । प्रवक्ता मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभागको पत्र अनुसार कोशी प्रदेश समितिका महामन्त्री तथा सदस्य पदबाट अर्को निर्णय नआइञ्जेलसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ ।’

अब उप्रान्त निज लालविक्रम थापाबाट रास्वपाको प्रतिनिधि स्वरूप गरिएका पाटीसँग सम्बन्धित कुनै पनि कार्यहरूलाई आधिकारिकता प्रदान नगर्ने पनि जारी विज्ञप्तिमा भनिएको छ । 

इटहरी–९ स्थित जनता माविको करिब २ कठ्ठा जग्गा थापा सञ्चालक रहेको सनमुन प्लाजाले ५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको थियो । विसं २०७६ साल साउन १ गते विद्यालय र थापाले सनमुन प्लाजा बीच भाडामा लिने दिने विषयमा सम्झौता भएको थियो ।

मासिक १ लाख ७ हजार ५ सय रुपैयाँका दरले ५ वर्षका लागि सम्झौता भएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।  तर लामो समय भइसक्दा पनि उनले विद्यालयलाई बुझाउनुपर्ने मासिक भाडा बुझाएका थिएनन् ।

थापाले भाडामा लिएको दिनदेखि २०८० माघ महिनासम्म विद्यालयलाई ३ वर्ष ७ महिनाको मासिक १ लाख ७ हजार ५ सयका दरले हुन आउने कुल ४६ लाख २२ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने देखिन्छ । तर उनले विद्यालयलाई हालसम्म किस्ता–किस्ता गरी करिब ७ लाख ४९ हजार पैसा दिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । 

मासिक भाडा नदिएपछि विद्यालयले थापालाई भाडा तिर्न आउन भनी २ वर्ष अघि वि.स.२०७८ सालमै पत्र काटेको प्रधानाध्यापक सिग्देलले जानकारी दिए ।  तर उनले अटेर गर्दै आएका थिए ।  विद्यालयलाई भाडा नदिएका थापाले जग्गा भाडामा लिएर भौतिक संरचना बनाएर अन्य व्यवसायीहरूलाई भाडामा लगाएका छन् ।

उनीहरूबाट भाडा बापतको रकम लिने गरेको भएपनि विद्यालयलाई तिर्नुपर्ने रकम चाहिं उनले नतिरेको विद्यालयले जानकारी दिएको छ । जग्गा भाडा विवादका विषयमा २०८० असार महिनामा छानबिन गर्न इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनेको थियो । वडा नं ६ का अध्यक्ष दिवस पोखरेल र विद्यालय व्यवस्थापन समितिका सदस्य समीर पोखरेल छानबिन समितिको सदस्य थिए ।

सो समितिले विवादका विषयमा प्रतिवेदन बनाएर विद्यालय व्यवस्थापन समितिलाई बुझाएको प्रधानाध्यापक सिग्देलले जानकारी दिए ।

गत निर्वाचनमा रास्वपाको उम्मेदवार रहेका लालविक्रमले सुनसरी क्षेत्र नं २ मा १९ हजार बढी मत ल्याएका थिए । इटहरीका वडाहरूबाट उनले कांग्रेस र एमालेका उम्मेदवारको भन्दा बढी मत ल्याएका थिए । सो निर्वाचनमा एमालेका भीम आचार्य ३२ हजार २४ मत ल्याएर विजयी थिए भने कांग्रेसका सीताराम मेहताले २६ हजार ६८ मत ल्याएका थिए ।

View : 637

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved