विराटनगर । मोरङ जहदा गाउँपालिका–४ का गुरुचरण महतोको परिवारमाथि एउटा समूहले शनिबार राति आक्रमण गर्दा बालबालिकासहितको परिवार नै बिस्थापित हुने अवस्थामा पुगेको छ ।
अरुको घरमा भाडामा बस्दै आएका महतोले घर बनाउन खरिद गरेको जमिन कब्जामा लिएर बसेको परिवारले आक्रमण गरेको उनको भनाइ छ । ४२ वर्षीय महतोले एउटा समूहले आफू, ९ वर्षीया छोरी, श्रीमती र १६ वर्षीय छोरालाई कुटपिट र लुटपाट गरेको जनाउँंदै आइतबार कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका छन् ।
उनीहरुको आक्रमणका कारण पुनः त्यस्तो घटना हुने भयले ठाउँनै छोड्नु पर्ने अवस्था आएको उनले बताए । सवारी चालकको काम गर्ने महतोले आफू बाहिर रहेका बेला छोराछोरी र श्रीमतीमाथि पुनः आक्रमण हुन सक्ने बताएका छन् । उनले दोषीलाई कारवाही र उपचार खर्चको ब्यवस्था गराई दिन प्रहरी समक्ष माग गरेका छन् ।
प्रहरीमा बुझाइएको जाहेरीमा जनाइए अनुसार कटहरी–४ का ४० वर्षीय दिलिफ महतो, ३५ वर्षीय सुधिर महतोलगायत ६ जनाले राति सवा ८ बजे आक्रमण गरेका हुन् । आत्रमणबाट महतोको नाक फुटेर छ वटा टाँका लगाइएको छ । छोराको हातमा चोट लागेको छ । सो समूहले छोरी र श्रीमतीलाई पनि कुटपिट गरेको उनले जाहेरीमा दाबी गरेका छन् ।
महतोले आफूले खरिद गरेको जमिनमा जमिन बिक्री गर्नेका आफन्तले जबरजस्ती बसोबास गरेको जनाउँदै यसअघि गाउँपालिकामा निवेदन दिएका थिए ।
केही वर्षअघि आमाले बिक्री गरेको जमिनमा छोरा आएर बसोबास गर्न थालेकाले आफूले घर बनाउन नपाएको महतोको भनाइ छ । खरिद बिक्री भई सकेको जमिनमा बसोबास गर्न थालेकाले आफ्नो केही वर्षदेखि डेराकै बास भएको उनले बताए ।
सोही स्थानमा जन्मिएर हुर्किएका महतोले आफू हाल परिवारको एक्लो सदस्य भएको र सम्पत्तिका नाममा एक मात्र घडेरीमा अरुले कब्जा गरेको दाबी गरेका छन् । जमिनमा घर बनाउन नपाएपछि न्यायका लागि बिभिन्न नेताहरुलाई आग्रह गर्दै आएका उनले अहिले सुरक्षाको माग गर्दै प्रहरी गुहारेको बताए ।
View : 187
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved