Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मुख्यमन्त्री कार्कीद्वारा शैक्षिक पर्यटन प्रवर्धनमा जोड

पूर्वाञ्चल विश्वविद्यालयमा ४३ करोड रुपैयाँ लागतको प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास

उद्‌घोष संवाददाता
९ साउन २०८२, शुक्रवार

सुन्दरहरैँचा । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । ४३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने सो अस्पतालको निर्माणले पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक तथा स्वास्थ्य सेवामा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ ।

शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूको बढ्दो लहरलाई रोक्न पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताए ।

उनले देशमा भएका शैक्षिक संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा गुणस्तरीय अध्ययन गर्न सकिने अवस्था सिर्जना हुने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले यसबाट विदेशबाट विद्यार्थीहरूलाई नेपालमा आकर्षित गर्न सकिने र यसले मुलुकको आर्थिक समुन्नति सँगै पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्नेमा जोड दिए । उनले यसतर्फ पूर्वाञ्चल विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

विश्वविद्यालयको आफ्नै स्रोतमा अस्पताल निर्माण

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु थपलियाले सो अस्पताल विश्वविद्यालयको आफ्नै स्रोतमा निर्माण सुरु गरिएको जानकारी दिए । उनका अनुसार, अहिले पहिलो चरणमा १२ करोड ४ लाख रुपैयाँको लागतमा काम सुरु गरिएको छ र यसलाई २०८३ साल पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुन्दरहरैँचास्थित विश्वविद्यालय परिसरमा शिलान्यास गरिएको सो अस्पतालको पूर्ण निर्माण सम्पन्न गर्न ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

उपकुलपति थपलियाले पहिलो चरणको काम सम्पन्न भएपछि अन्य थप निर्माण कार्य सुरु गरिने बताए । सो अस्पताल निर्माण पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालको स्तरोन्नति गर्ने उद्देश्यका साथ अघि बढाइएको हो ।

View : 695

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved