Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

उद्‌घोष संवाददाता
२६ माघ २०८२, सोमवार

विराटनगर । कोशी प्रदेशसभाको आठौं तथा हिउँदे अधिवेशन आइतबारदेखि विराटनगरको वीरेन्द्र सभागृहमा सुरु भएको छ । 

भदौ २४ गतेको जेनजी आन्दोलनकारीको तोडफोड र आगजनीबाट प्रदेशसभा सचिवालय र सभाहल पूर्ण रुपमा ध्वस्त भएपछि तत्काललाई वीरेन्द्र सभागृहबाट प्रदेश सभाको अधिवेशन सुरु भएको हो ।

अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप प्रत्यारोप चलेको छ । 

९३ सदस्यीय कोशी प्रदेश सभामा राप्रपाका संसदीय दलका नेतासमेत रहेका भक्ति सिटौलाले राजिनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्न गएपछि ९२ सदस्यीय बनेको छ ।

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा आइतबार नै नेकपाको संसदीय दलका नेता चुनिएका इन्द्रबहादुर आङ्बोले सरकारको कार्यशैलीमाथि टीकाटिप्पणी गरे । आङ्बोले सरकारले कमजोरी ढाकछोप गर्दै अघि बढेको आरोप लगाए । 

सरकारकै कारण अहिले जनतामा थप आक्रोस पैदा भएको बताए । उनले जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति हुनुमा तत्कालिन सरकार दोषी रहेको आरोप लगाए ।

उनले प्रदेश सरकारभित्र आर्थिक अनियमितता र विवादित निर्णय भइरहेको दाबी गर्दै त्यसको ढाकछोपमा मुख्यमन्त्री लागेको बताए ।

बैठकमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले मुलुकमा बाह्य शक्तिको चलखेल बढेको बताए । सोही कारण नेपाललाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको जिकिर गरे ।

उनले नेपाललाई युक्रेनजस्तै बनाउने प्रयास भइरहेको भन्दै राष्ट्रियतामाथि खतरा बढेको बेला कांग्रेस र एमालेबीचको सहकार्य अपरिहार्य भएको बताए । 

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संयम अपनाउन आग्रह गरे । उनले संवादमार्फत हरेक समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।

सरकारले सुशासनका सवालमा प्रतिपक्षले उठाएका विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आग्रह गरे । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद प्रेमराज थाम्सुहाङले वर्तमान व्यवस्थाप्रति बढ्दो वितृष्णाकै कारण सडकमा असन्तोष बढेको गुनासो गरे । उनले राजा, राजनीतिक दल र जेनजी पुस्ता अटाउने राष्ट्रिय एकताको नयाँ ढाँचाको राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने धारणा राखे ।

बैठकको सुरुमै सभामुख अम्बरबहादुर विष्टले अस्थिर राजनीति र आरोप प्रत्यारोपले जनविश्वास झन् कमजोर हुने खतरा औंल्याउँदै संवाद र सहकार्यको बाटो रोज्नुपर्ने बताएका थिए ।

View : 175

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved