Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

उद्घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

रसुवा, ५ भदौ । गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् ।

रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्ताेवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् ।

उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।

गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरु घाइते भएका थिए ।

जनैपुर्णिमा मेलामा गोसाइँकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमि आए पनि चार जनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पुर्याएका थिए ।

उद्वारका लागि ठाउँ–ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

यसवर्ष स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहयोगबाट धुञ्चेमा  सञ्चालित ‘हेल्थ डेस्क’मार्फत दुई हजार २० जनालाई  स्वास्थ्य परीक्षण गरी लेक नलाग्ने औषधि खुवाइएको थियो ।

तीर्थयात्रुलाई रेडक्रसको सहयोगमा जिल्ला आर्युवेदिक सेवा केन्द्रले दुई सय ४०, नेपाली सेनाको श्रीनाथ गणले चोलाङ पाटीबाट दुई हजार १७, गोसाइँकुण्ड गाउँपालिका र स्वास्थ्य कार्यालयले लौरीविनायकमा शिविर सञ्चालन गरी नौ सय ५० जनालाई प्राथमिक उपचार एवं परामर्श दिएको जिल्ला स्वास्थ्य प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए ।

जनैपुर्णिमामा हेलिकप्टरबाट गोसाइँकुण्ड जान खोजेका तीर्थयात्री भने प्रतिकुल मौसमका कारण जान सकेनन् ।

खराब मौसमले उडान गर्न नसकिएको अल्टिच्युड एयरका निर्देशक एवं वरिष्ठ क्याप्टेन विवेक खड्काले जानकारी दिए । 

नागपञ्चमीदेखि जनैपूर्णिमासम्म एघार हजार तीर्थयात्री गोसाइँकुण्ड पुगेको र यस क्षेत्रमा आठ करोड बराबरको व्यापार भएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए ।

मेलामा व्यापारीले महङ्गो मूल्य असुल गरेको गुनासो बढेको छ ।

गोसाइँकुण्ड मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । रासस

View : 95

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved