Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कृषि नै समृद्धिको आधार: मन्त्री खत्री

उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकको समृद्धिका लागि कृषि क्षेत्रलाई नै अघि बढाउनु पर्ने बताएका छन् । उनले कृषि क्षेत्रलाई अगाडि बढाउन प्रदेश स्तरमा आवश्यक पर्ने खाद्यान्न वस्तुको उत्पादन प्रदेशभित्रै गर्नका लागि प्रदेश सरकारले कार्यक्रम बनाउँदै गरेको बताएका हुन् ।

बुधबार मन्त्रालयको आयोजनामा कृषि मूल्य सूचना प्रणाली सार्वजनिक गर्ने कार्यक्रमका अवसरमा बोल्दै मन्त्री खत्रीले मुलुकको समृद्धिका लागि कृषिमै लगानी बढाउनुपर्ने बताए । 

‘नेपाललाई समृद्ध राष्ट्र बनाउने हो भने कृषिमा लगानी बढाउनु बाहेकको विकल्प छैन’ मन्त्री खत्रीले भने, ‘कृषि क्षेत्रको विकासको लागि केन्द्र सरकार र स्थानीय सरकारबीच संयोजनकारी भूमिका खेल्नसमेत प्रदेश सरकार तयार छ ।’

उनले कृषि मूल्य सूचना प्रणालीले कृषकहरूलाई वस्तुको मूल्य र मागको प्रवृत्ति बुझ्न सघाउ पुर्‍याउने दाबी गरे । जसबाट किसानहरुको मनोबल बढ्ने माग अनुसारको बजार खोजेर बिक्रीको अवसर प्राप्त गर्ने बताए । 

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले प्रत्येक कृषि बालीको समर्थन मूल्य सरकारले तोक्नुपर्ने माग गरे । अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ, कन्काई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी लगायतले पनि किसानलाई फाइदा पुग्ने गरी मूल्य निर्धारण गर्न सके बजार सूचना प्रणालीको प्रयोग बढ्नसक्ने बताए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखनाथ दाहालले मूल्य सूचना प्रणालीलाई सवै किसानको पहुँचमा पुर्‍याउन सरकारले नीति बनाउँदै अघि बढ्ने बताए । उनले बजारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएकोले निजी क्षेक्रको सुदृढीकरण आवश्यक रहेको धारणा राखे ।

साना सिंचाई आयोजना कार्यत्रम र नेपाल कृषि बजार विकास कार्यक्रमको सहयोगमा कोशी प्रदेशका प्रमुख कृषि बजारको मूल्यलाई प्रदेश सरकार मातहतको विद्युतीय संरचनामार्फत सार्वजनिक गर्न कृषि मुल्य सूचना प्रणाली स्थापना गरिएको जनाइएको छ । उक्त प्रणाली २०७९ भदौ महिनादेखि सुरु गरिएको हो । 

उक्त प्रणालीमा धरान, इनरुवा, विर्तामोड, गाइघाट लगायतका स्थानमा रहेका कृषि बजारको थोक मूल्य प्रविष्ट गर्ने र त्यसको जानकारी किसानसम्म पुर्‍याऊने कार्यक्रम रहेको जनाइएको छ ।

कार्यत्रममा जल उपभोक्ता संस्था, साना सिंचाई आयोजना, कृषि बजारका व्यवस्थापक तथा पदाधिकारी, व्यापारी लगायतको उपस्थिति  थियो ।

View : 208

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved