Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

हिमपहिरोले थुनियो बोक्सेखोला

उद्‌घोष संवाददाता
७ भदौ २०८१, शुक्रवार

म्याग्दी, ७ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ ।

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताए ।

“शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,” उनले भने, “हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ ।”

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ । कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा शसस्त्र प्रहरीको टोली पठाएको बताए ।

“ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ,” उनले भने, “बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सेखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।”

खोलाको छेउछाउ चराउन लगिएका बस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

View : 413

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved