Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम

उद्‌घोष संवाददाता
४ माघ २०८२, आइतवार

सुन्दरहरैंचा । २८६२ औं सोनाम ल्होछार पर्वको अवसरमा सुन्दरहरैंचा–६, बुद्धचौकस्थित गुम्बा परिसरमा  सांस्कृतिक कार्यक्रम  हुने भएको छ । 

ओम साङ्गे रेसुम गुम्बा, सुन्दरहरैंचा–६ द्वारा आयोजना हुन लागेको उक्त कार्यक्रम माघ ५ र ६ गते सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

गुम्बाका सचिव तथा कार्यक्रम संयोजक सन्तोष मोक्तानले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 

उनले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित बनाउन शान्ति–सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको बताए । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

त्यसैगरी गुम्बाका अध्यक्ष प्रकाश पाख्रिनले सोनाम ल्होछार केवल पर्व मात्र नभई समुदायको संस्कृति, पहिचान र एकताको प्रतीक भएको उल्लेख गर्दै सबै समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे । 

उनले कार्यक्रममार्फत धार्मिक तथा सांस्कृतिक संरक्षणसँगै आपसी सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताए ।

कार्यक्रम अन्तर्गत सोमबार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने जनाइएको छ । 

त्यस्तै मंगलबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार गुरागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ ।

सांस्कृतिक कार्यक्रमका मुख्य आकर्षणका रूपमा लोकप्रिय कलाकार बबिता किराती र पूजा लामाको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । 

साथै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिने बताइएको छ ।

View : 162

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved