Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरहरैंचा नगरपालिकालाई पूर्वनगर प्रमुख ढकालको पहलमा १० थान कम्प्युटर हस्तान्तरण

उद्‌घोष संवाददाता
९ असोज २०८२, बिहिवार

सुन्दरहरैंचा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैंचा नगरपालिकालाई  कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । 

पूर्वनगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान र प्रिन्टर चार थान हस्तान्तरण गरिएको हो ।

नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । 

सुन्दरहरैंचाको सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल वशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टल क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि र केवी तथा अनिता श्रेष्ठले एक–एक थान कम्प्युटर, कञ्चनजंघा इन्डष्ट्रिज प्रालिले कम्प्युटर र प्रिन्टर एक–एक थान, सुन्दरहरैचा ७ का विशाल खरेलले प्रिन्टर २ थान र सिपीएन इन्फोसिस् प्रालिले प्रिन्टर एक थान नगरपालिकालाई उपलब्ध गराएको पूर्वनगर प्रमुख ढकालले बताए ।

सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरवासीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । 

उनले नगरपालिकाले सेवा प्रवाह सुरु गरिसकेको उल्लेख गर्दै  नगरपालिका जलेर नष्ट भएपनि निराश भएर बस्ने अवस्था नभएको उल्लेख गरे ।

भदौ २४ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको करिव ४ करोड ३० लाख  बराबरको भौतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

जेनजीको आन्दोलनका क्रममा सुन्दरहरैंचा नगरपालिका कार्यालय, निजी क्षेत्रबाट सञ्चालित नेपालीरिका होटल  जलेर खरानी भएको थियो ।

यस्तै नगर प्रमुख गुरागाईं र पूर्वनगर प्रमुख ढकालको घरमा रहेका  सामानहरुमा आगजनी र तोडफोड भएको थियो  । 

त्यसैगरी पूर्वमन्त्री भानुभक्त ढकालको घर, नेपाली कांग्रेस नगर कार्यालयमा तोडफोड तथा आगजनी गरिएको थियो ।

View : 293

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved