विराटनगर, १८ कात्तिक : गएराती ११ बजेर ४७ मिनेटमा गएको भुँइचालोमा परी पश्चिम नेपालको रुकुम पश्चिम र जाजरकोटमा ८० जना बढीको मृत्यू भएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि जाजरकोटमा ४४ र रुकुममा गरी ३६ जनाको ज्यान गइसकेको त्यहाँको प्रशासनले जनाएको छ । घाइतेहरुको संख्या दुई सय जनाभन्दा बढि रहेको जनाइएको छ ।
मध्यरातको भुँइचालोमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको समेत ज्यान गएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए ।
जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३० जनाको मृत्यू भएको छ । त्यसैगरी नलगाड नगरपालिकामा ६, कुशे गउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यू भएको जनाइएको छ ।
भूकम्पबाट भएको क्षति यकिन हुन सकेको छैन । ठुलो मानवीय संकट आइलागेको भन्दै त्यहाँका स्थानीय तहहरुले घाईतेहरुको तत्काल उद्दार र उनीहरुको स्वास्थोपचारका लागि सहयोग आह्वान गरेका छन् ।
प्रहरीले रातीदेखि नै केही उद्दारका काम गरेको छ । अन्य क्षतिको विवरण सङ्कलन हुन सकेको छैन । भूकम्पबाट धेरै घर भत्किएका कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।
View : 156
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved