विराटनगर । विराटनगरमा ज्येष्ठ नागरिकहरूको हकहित, अधिकार र सामाजिक सुरक्षाको विषयलाई केन्द्रमा राखेर पाँचदिने बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।
नारी विकास संघद्वारा आयोजित उक्त कार्यक्रम ज्येष्ठ नागरिक महासंघ र सामाजिक सुरक्षा क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरूको सहकार्यमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा केन्द्रको सभाहलमा बिहीबारदेखि विधिवत रूपमा सुरु भएको हो।
उद्घाटन कार्यक्रममा ज्येष्ठ नागरिकहरूले समाज र देश विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूको सम्मानजनक जीवनयापनका लागि आवश्यक नीति तथा सेवाहरूलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
साथै, ज्येष्ठ नागरिकहरूका लागि राज्यले व्यवस्था गरेका विभिन्न सेवा सुविधाहरूको व्यावहारिक कार्यान्वयन र संस्थागत समन्वयलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पहिलो दिन गहन छलफल भएको थियो।
अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले स्थानीय तहबाट ज्येष्ठ नागरिकहरूका लागि विशेष कार्यक्रमहरू ल्याइने र उनीहरूको सहजताका लागि वडा सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, नारी विकास संघकी अध्यक्ष करुणा जोशी, सामाजिक अभियन्ताहरू इश्वरी खनाल, भुवनेश्वरी आचार्य, रमानाथ भट्टराई र इन्द्रप्रसाद भट्टराई लगायतले बोल्दै ज्येष्ठ नागरिकहरू समाजका पथप्रदर्शक भएकाले उनीहरूलाई मैत्रीपूर्ण वातावरण प्रदान गर्नु परिवार, समाज र राज्यको साझा दायित्व भएको बताए।
पाँच दिनसम्म निरन्तर चल्ने यस अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकको हक अधिकार सम्बन्धी कानुनी प्रावधान, व्यवहारमा देखिएका चुनौतीहरू र आगामी दिनमा चालिनुपर्ने कदमहरूका बारेमा गहन मन्थन गरी ठोस निष्कर्ष निकालिने आयोजकले जनाएको छ।
View : 121
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved