विराटनगर । अघिल्ला निर्वाचनहरूमा विराटनगरको राजनीतिक वृत्तमा सधैँ चर्चाको केन्द्रमा रहने एक नाम यसपटक भने गुमनाम देखिएको छ । विरादारीका केही व्यक्तिहरूको उम्मेदवारीको चर्चा चुलिंदा कुनै बेलाका संविधानसभा तथा प्रतिनिधिसभा सदस्य, उद्योगपति मोति दुगड भने अहिले गुमनामझैं चुपचाप छन् ।
पहिलो संविधानसभादेखि नै कुनै न कुनै रूपमा संसदीय राजनीतिमा उपस्थित दुगड यसपटक प्रत्यक्ष वा समानुपातिक कुनै पनि सूचिमा नदेखिदा उनी ‘गुमनाम’ बनेको चर्चा सुरु भएको हो ।
दुगडलाई नजिकबाट चिन्नेहरू पछिल्लो समय व्यवसायमा नोक्सानी हुन थालेपछि उनी आर्थिक तनावमा रहेको बताउँछन् ।
‘व्यवसायमा धेरै नोक्सानी भएपछि उनको राजनीतिप्रतिको मोहभङ्ग भएको हुनुपर्छ, त्यही भएर उनी आजकल कतै देखिदैनन्, र कतै सुनिदैनन्’ दुगड निकटका एक उद्योगपतिले भने ।
दुगड स्वयं भने आफू कुनै आर्थिक नोक्सानीमा नरहेको दावी गर्छन् । उनी आफ्नो सबै व्यवसायहरू ठिकठाक ढंगले चलिरहेको बताउँछन् ।
‘मेरो कुनै पनि व्यवसायमा नोक्सानीमा छैन, बाहिर अनावश्यक हल्ला मात्र चलाइएको छ’ उनले उद्घोषसँग भने । उनले केही सम्पत्ति खरिदबिक्री भएको चाहिँ सत्य भएको बताए ।
दुगडले पछिल्लो समय विराटनगरको धरानरोडस्थित निर्माणाधीन द सेञ्चुरियन होटल बिक्री गरेका छन् । उनले उक्त होटल भाटभटेनी समूहका मीनबहादुर गुरुङलाई बिक्री गरेका हुन् ।
के कतिमा खरिदबिक्री भएको त्यो नखुलाए पनि दुगडले आफूले राम्रो दाम पाएपछि होटल बिक्री गरेको बताए । नाफा हुन्छ भने सम्पत्ति खरिद बिक्री गर्नु अनौठो कुरा नभएको उनले बताए ।
‘अरे बाबा दुई पैसा नाफा हुन्छ भने कसले बिक्री गर्दैन’ उनले भने, ‘मैले जे गर्नुपर्ने थियो, त्यै गरेँ ।’
दुगडको होटल खरिद गर्ने मीनबहादुर गुरुङ पछिल्लो समय नेकपा एमालेसँग निकट मानिएका व्यापारीका रुपमा चिनिन्छन् । उनी एक्लैले झण्डै एक अर्ब रुपैयाँ खर्च गरेर नेकपा एमालेको केन्द्रीय कार्यालय बनाइदिने घोषणा गरेका थिए । स्रोतका अनुसार, दुगड र गुरुङबीचको खरिद–बिक्रीको तारताम्य पार्टी पंक्तिले नै मिलाएको बताइन्छ ।
यद्यपि होटल खरिदबिक्री पार्टीसँग कुनै साइनोसम्बन्ध नभएको दुगडले बताए ।
उनले अहिलेको चुनावी माहौलमा आफ्नो नाम कहीँ कतै नआएकोमा व्यवसायको नाफा–नोक्सानसँग नजोड्न पनि आग्रह गरे । उनले आफू नेकपा एमाले पार्टीको महत्वपूर्ण जिम्मेवारी रहेको दावी गरे ।
‘मैले चुनाव लड्न चाहेको भए पार्टीले टिकट दिन्थ्यो’ उनले भने, ‘यसपटक मेरो कुनै इच्छा छैन ।’ केही घरायसी र व्यावसायिक कारणले आफू चुनावमा नउठ्ने जानकारी पार्टीलाई गराएको उनले बताए । यसपटक अरु उम्मेदवारलाई जिताउन पार्टीले थप जिम्मेवारी दिएको उनले बताए ।
‘मलाई यो चुनावमा धेरैलाई जिताउनु छ,’ उनी भन्छन्, ‘आफू उठ्ने भन्दा पार्टीलाई जिताउनु ठूलो जिम्मेवारी हो ।’
नेकपा एमालेको मापदण्डअनुसार समानुपातिकतर्फ दोहो¥याएर टिकट नदिने व्यवस्था र प्रत्यक्षमा उम्मेदवार नबन्ने आफ्नै इच्छाले उनी उम्मेदवारको सूचीमा नपरेको उनको भनाइ छ ।
उनका अति निकटका साथीभाइहरू भने एकातर्फ व्यवसाय छाडेर राजनीतिमा लाग्नु र अर्कातर्फ आफ्नै फुर्माइस खर्चले दुगडको व्यावसायिक यात्रा ओरालो लागेको बताउँछन् ।
दुगड भने राजनीति र व्यवसायको अलग–अलग धर्म आफूले कुशलतापूर्वक निर्वाह गरिरहको बताउँछन् । सोही कारण आफू पार्टीभित्र महत्वपूर्ण भूमिकामा रहेको उनको दावी छ ।
उनले विभिन्न विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल र कुराकानी भइरहने बताए । ‘आज पनि कुराकानी, छलफल भएको छ’ उनले भने ।
एमालेमा उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी पाउनु, ओली प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार हुनु र मन्त्री हुन पाउनु आफ्ना लागि सधैँ अवसर नै अवसर नै भएको उनले बताए । उनले आफू चाँडै पार्टी केन्द्रीय कमिटी सदस्य हुने पनि बताए ।
‘एमालेबाट सबै कुरा पाएको छु, पार्टीप्रति कुनै गुनासो छैन’ उनले भने ।
विराटनगर–२ तीनपैनी निवासी मोति दुगडको राजनीतिक यात्रा २०६४ सालको संविधान सभाबाट सुरु भएको हो ।
उनी तत्कालीन समयमा धेरैलाई आश्चर्यचकित पार्दै संविधानसभा छिरेका थिए ।
सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी (आनन्ददेवी) लाई एकमुष्ट आर्थिक सहयोग गरेर उनी पहिलो संविधानसभामा सभासद् बनेका थिए ।
तर पार्टी अध्यक्षसँग विवाद भएपछि उनी सो पार्टीबाट अलग भए । त्यसपछि उनले २०७० सालमा खरायो चुनाव चिह्न लिएर ‘नव नेपाल निर्माण पार्टी’ स्थापना गरे ।
उक्त पार्टीमार्फत उनले २४ जना प्रत्यक्ष र ५० जना समानुपातिक उम्मेदवारसमेत उठाए । अध्यक्ष रहेका उनले आफ्नो नाम भने समानुपातिक सुचीमा राखेका थिए ।
तर उनको पार्टीका सबै उम्मेदवारहरूको प्रत्यक्षतर्फ जमानत जफत भयो भने समानुपातिकतर्फ पनि एक सिट जित्न पुग्ने मतसमेत आउन सकेन ।
पछि दुगडले आफूले खडा गरेको नव नेपाल निर्माण पार्टीलाई नेकपा एमालेमा विलय गराए ।
नेकपा एमालेले २०७४ सालमा दुगडलाई प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा समावेश गर्यो ।
एमालेको समानुपातिक सूचीमा परेका उनी पछि प्रतिनिधिसभा सदस्यसँगै केपी ओली प्रधानमन्त्री हुँदा १३ महिनाजति उद्योग राज्यमन्त्री भएका थिए ।
View : 214
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved