भोजपुर । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धि यात्रा अभूतपूर्व रूपमा सफल भएको दाबी गरेका छन् ।
मुलुकमा राजतन्त्रलाई ब्युँझाउने, अराजकता मच्चाउने र सामाजिक सद्भाव भड्काउने खालका गतिविधि सुरु भएका बेला त्यस्ता सबै शक्तिलाई परास्त गर्न सकिने सन्देश संकल्प यात्राले दिएको उनले बताए ।
भोजपुरमा बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पौडेलले संकल्प यात्राले जनताको अजेय शक्तिलाई एकपटक पुनः पुष्टि गरेको बताए । लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान् बनाउने माध्यम भएको कुरालाई समेत संकल्प यात्राले पुनः पुष्टि गरेको उनले दाबी गरे । पौडेलले भने 'संकल्प यात्राले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको छ ।'
उनले पुस १ गते सकिने यात्रामा एमालेका नेता-कार्यकर्ता र आम सर्वसाधारणको सहभागितामा उत्साह नघट्ने बताए । पौडेलले मध्यपहाडी जिल्लामा मात्रै नभई सबै नागरिकमा आशा जगाउन सफल भएको बताए । उनले एमालेबाट मात्रै मुलुकको समृद्धि सम्भव भएको दाबी गरे ।
‘नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन् । जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो' उनले भने‚ 'असाधारण उत्साह थपिएको छ ।'
उपाध्यक्ष पौडेलले झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रामा १५ दिन हिँड्दा मध्यपहाडी राजमार्गलाई दोहोरो सवारीसाधन संचालन गर्न सक्नेगरी स्तरोन्नति गर्नुपर्ने, घुम्ती र मोड मिलाउनुपर्ने, पुल बनाइ केही ठाउँमा रुटसमेत फेरेर छोटो बनाउनेतर्फ ध्यानाकर्षण भएको बताए ।
मध्यपहाडी क्षेत्र भविष्यको विकास र समृद्धिको आधारशिला रहेको कुरालाई उजागर गर्न यात्रामार्फत सफलता प्राप्त गरेको उनको भनाइ छ ।
‘पहाड र हिमाली क्षेत्र फलफूल र जडीबुटीको उर्वर भूमि हुन् । फलफूल खेतीका माध्यमबाट पहाडी क्षेत्रको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने कुरा यो यात्राका क्रममा प्रमाणित भएको छ‚’ उनले भने ।
यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि गरेको उनले बताए ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजभित्र हामीले एकता निर्माण गर्ने आधार खोजिरहेका थियौं, त्यो आधार प्राप्त भएको छ‚’ उनले भने ।
View : 150
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved