Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
साहित्य

बहुभाषिक कवि अन्तर्राष्ट्रिय सम्मेलन हुने

उद्घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको बहुभाषिक कवि सम्मेलनसहित लोक सांस्कृतिक सम्मेलन हुने भएको छ ।

नेपाल तथा भारतका संस्थाहरुको संयुक्त सहकार्यमा सम्मेलन हुन लागेको हो । भारतीय संस्था राष्ट्रिय कला सेवा संस्थानले विराटनगरस्थित आभा फाउण्डेशनसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाहरुले आइतबार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराएका हुन् ।

आउँदो पुस ५ र ६ गते विराटनगरमा सम्मेलन आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै भारतीय संस्था राष्ट्रिय कला सेवा संस्थानका अन्तर्राष्ट्रिय संयोजक अरविन्द श्रीवास्तव ‘चित्रांश’ ले नेपाल तथा भारतको मौलिक भाषा संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताए ।

उनले सम्मेलनमा नेपाल, भारतका साथै श्रीलंका, फिजी लगायतका अन्य मुुलुकबाट समेत कवि तथा सहभागीहरु आमन्त्रण गरिने  जानकारी गराए ।

आभा फाउण्डेसन नेपालका निर्देशक आभा अनुपमाले सम्मेलनमा बहुभाषिक कवि सम्मेलनका साथै नेपाल तथा भारतका विभिन्न समुदायका मौलिक पहिरन झल्किने फेशन शो समेत आयोजना गरिने बताइन् ।

कार्यक्रममा आयोजना गरिने फेशन शो लगायतका अन्य लोक सांस्कृतिक कार्यक्रमले स्थानीय प्रतिभाहरुले अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सघाउ पुग्नुका साथै अन्यत्रका संस्कृतिसँग साक्षात्कार गर्न समेत मद्दत मिल्ने उनले बताइन् ।

आइडियल जर्नलिस्ट एशोसिएशन भारतका राष्ट्रिय महासचिव सञ्जयकुमार पाण्डे ‘सरस’ ले दुई दिने सम्मेलनमा भारतीय सिने क्षेत्रका स्टारहरु मनोज तिवारी, रवि किशन तथा अक्षरा सिंह सहितका बलिउडका दर्जनौं कलाकारहरुको समेत सहभागिता रहने जानकारी गराए ।  

अन्तर्राष्ट्रिय साहित्यिक एवं सांस्कृतिक संगम नेपाल शीर्षकमा कार्यक्रम हुन लागेको हो । नेपालमा पहिलो पटक विराटनगरमा आयोजना हुन लागेको सो कार्यक्रम काठमाडाैं, वीरगञ्ज र जनकपुर लगायतमा समेत आयोजना गरिने जनाइएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपालका अध्यक्ष पूजा बहार, भोजपुरी गीतकार सोहनलाल गुप्ता ‘स्नेहिल’, भोजपुरी गायिका रोशनी गोड, युवा अभियन्ता चाँद इराकी तथा आभा फाउण्डेशनकी सदस्य साधना झा लगायतको सहभागिता थियो ।

View : 88

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved