Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

अरूको नागरिकतामा बीमा एजेन्टको खाता, बैंक र बीमा कम्पनी प्रति उठ्यो प्रश्न

उद्घोष सम्वाददाता
७ भदौ २०८१, शुक्रवार

अरूको नागरिकता प्रयोग गरी बनाइएको स्थायी लेखा नम्बर परिचयपत्र र बैंकको गेट अगाडि छोराछोरी बोकेर बसेकी पीडित पुनमकुमारी । तस्वीर : कमल/उद्घोष

Advertisement

विराटनगर । जीवन बीमा गराईदिने सर्तमा नागरिकता र फोटो लिएर अर्काको नाममा बैंक खाता खोलेर एक बीमा एजेन्टले बैंकिङ कारोबार गरेको पाइएको छ । मोरङ जहदा ५ बस्ने पुनम मण्डलले अर्कैको नागरिकता र फोटो प्रयोग गरेर विराटनगर महेन्द्र चोकस्थित प्राइम कमर्सियल बैंकको प्रादेशिक कार्यालयबाट एक महिनाअघि खाता खोलेको पाइएको हो ।

उनले हिमालयन लाइफ इन्स्योरेन्सको एजेन्ट भएर काम गरेको र त्यसको कमिशन लिन अरूको नागरिकता प्रयोग गरेर खाता खोलेको पाइएको हो । 

उनीसँग नागरिकता नभएकाले अरूको नागरिकता प्रयोग गरेको हुनसक्ने बताइएको छ । अर्काको नागरिकता पेश गर्नेलाई एजेन्ट बनाएको बारे पनि इन्स्योरेन्सप्रति पनि प्रश्न उठेको छ । 

अरूको नागरिकता प्रयोग गरेर आन्तरिक राजश्व कार्यालय विराटनगरबाट मण्डलले स्थायी लेखा नम्बर पनि लिएको पाइएको छ । भारतीय सीमावर्ति क्षेत्र नेपालतर्फ नै माइतीघर भएपनि नागरिकता नभएकी मण्डल बिवाह गरेर जहदा–५ मा आएकी थिइन् । 

उनी बीमा एजेन्टको सहयोगी बनेर काम गर्ने क्रममा एजेन्टमार्फत नै कमिशत नगदमा पाउँथिन् । आˆनो नागरिकता भए इन्स्योरेन्स कम्पनीबाट सिधै आˆनो खातामा रकम आउने भएकाले उनलाई आफूसँग नाम मिल्ने महिला खोज्नु थियो । उनले जहदा–५ मै पुनमकुमारी मण्डललाई फेला पारिन् । सम्बन्ध बनाइन् र ५ लाख रूपैंयाको जीवन बीमाको प्रस्ताव राखिन् । 

पुनमकुमारीले स्वीकार गर्दै नागरिकता र फोटो उपलब्ध गराइन् । मण्डलले बैंक खाता र स्थायी लेखा नम्बर परिचयपत्र बनाएर नागरिकता फिर्ता गरिन् । उनले लिएको स्थायी लेखा नम्बर १४५५२२३६४ र बैंक खाता नम्बर ०३४०१००००००३८६८१८७९० रहेको छ । खाता खोलेको केही दिनमै पुनमकुमारीका श्रीमान कारू मण्डललाई एउटा सूचना आयो–तपाईकी श्रीमतीका नाममा अरू कसैले बैंकमा खाता खोलेर कारोबार गर्न थालेको छ । 

श्रीमान श्रीमती दुई स–साना छोराछोरी र भाइ विकेशकुमार मण्डललाई लिएर बिहीबार प्राइम बैंक प्रदेश कार्यालय पुगेर जिज्ञाशा राख्दा सो कुरा प्रमाणित भयो । बैंकले बिहीबार नै खाता रोक्का गरेर छानविन थालेको छ । कारू मण्डलले भनें यसमा बैंकका कर्मचारीको पनि मिलेमतो हुन सक्ने भन्दै बैंकप्रति प्रश्न उठाएका छन् । बैंकका प्रदेश प्रमुख बिमन श्रेष्ठलाई भेटेर प्रश्न गर्ने बताउँदै मण्डल परिवार तीन घण्टा बैंकको ढोका बाहिर बसेको थियो । 

सञ्चारकर्मी पनि रहेकाले उनीहरूलाई भित्र पस्न दिइएको थिएन । लामो पर्खाइपछि कार्यालय बाहिरबाट आएका प्रमुख श्रेष्ठले पीडित पक्षसँग बोल्न मानेनन् । उनीहरूले बैंकले किन यस्तो गल्ती गर्यो भन्ने प्रश्न गर्दा श्रेष्ठ बोल्न मानेनन् । बैंकका अफिसर रिमेन ढकालले भनें आन्तरिक छानविन गरेर प्रहरीमार्फत कारवाही गराइने बताएका छन् ।

‘सीसीटीभी फुटेज हेरेर हामी कारवाहीका लागि प्रहरीमा निवेदन दिन्छौं’ उनले भने । पीडित पुनमकुमारीका भाइ बिकेश मण्डलले बैंकको गम्भीर लापर्वाहीका कारण अरूको नागरिकतामा खाता खुलेको र रकम जम्मा भएको बताए । उनले अनुहार नहेरी औंलाको छाप कसरी लगाएर बैंक खाता खोलियो भन्ने प्रश्न उठाएका छन् ।

उनको खातामा ४ हजार ३ सय ६ रूपैंयाँ ३३ पैसा रहेको पाइएको छ । त्यस मध्ये केही रूपैंयाँ इन्स्योरेन्सले जम्मा गरिदिएको देखएको छ । बैंकले यस बारे प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले पीडित पक्ष र बैंक पक्षलाई शुक्रबार सोधपुछका लागि बोलाएको बताइएको छ ।

View : 249

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved