Biratnagar, Morang, Nepal
२ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी सरकारले बनाएको १७ किलोमिटर कालोपत्रे सडक सञ्चालनमा

कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय संखुवासभाले ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न गरेको जनाइएको छ ।
उद्‌घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

विराटनगर । कोशी प्रदेश सरकारको बजेटबाट बनेको करिव १७ किलोमिटर लामो कालोपत्रे सडक सञ्चालनमा आएको छ । तेह्रथुमको महत्वपूर्ण सडक सञ्जालको रुपमा रहेको सिधुवा-शुक्रबारे-ओख्रेसम्मको डबल लेन सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् ।

कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय संखुवासभाले ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न गरेको जनाइएको छ ।

संघीयताको कार्यन्वयनपछि बनेको प्रदेश तहले काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने जनाइएको छ । 

उक्त सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने स्थानीयले बताए । यो सडक धनकुटाको सिधुवाबाट सुरु भई तेह्रथुमको सदरमुकामसम्म पुर्‍याउने लक्ष्यका साथ निर्माण गरिएको हो । 

सडक सञ्जालको उद्‌घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पहाडी जिल्लामा भइरहेको बसाइसराइ रोक्न, कृषि र पर्यटनलाई प्रर्वद्धन गर्न उक्त सडक महत्वपूर्ण हुने दाबी गरे ।

‘आज पहाडबाट बसाइसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ’ उनले भने, ‘नयाँ संरचना हो हामी, राम्रा र देखाउन हुने काम गर्ने छौँ ।’

प्रदेश संरचना नयाँ भएपनि यसले महत्वपूर्ण काम गरिरहेको र कोशी प्रदेशको समृद्धिका लागि आगामी वर्ष कोशी पर्यटन वर्ष मनाउने तयारी भइरहेको पनि सोही अवसरमा जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको छथर जोरपाटीको खेलकुद लगायत विभिन्न कार्यक्रममा सहभागिता जनाएको उनको सचिवालयले जनाएको छ ।

View : 443

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved