विराटनगर । जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेको छ ।
उदयपुर त्रियुगा–१० बोक्सेका पारस भनिने दिपककुमार बस्नेतले एक महिलालाई २०७६ पुस १८ मा भारत लैजान जोगवनी नाकातर्फ लैजाँदै थिए । महिलालाई भारतमा लगेर बिक्री गर्ने बस्नेतको योजना भए पनि सामाजिक संस्थाको अगुवाइमा उनको उद्धार भएको थियो । बस्नेतलाई जबरजस्ती करणी र मानव बेचबिखनको मुद्दा लगाइएको थियो ।
अदालतले १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका बस्नेत काठमाडौंको अनामनगरबाट पक्राउ परेको ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार बस्नेतलाई उच्च अदालत विराटनगरले २०८० मंसिर ५ मा कैद र जरिवानाको फैसला गरेको थियो ।
महिलालाई बस्नेतले विवाहको प्रस्ताव राख्दा उनले अस्वीकार गरिन् । घटना विवरणअनुसार बस्नेतले ती युवतीलाई २०७६ मंसिर २१ गते बिवाहको प्रस्तावसहित धम्की दिए–‘मसँग बिहे नगरे फेसबुकमा तिम्रो नाम लेखेर आत्महत्या गर्छु, तिमी जेल जान्छेऊ ।’ महिला डराएपछि बस्नेतले फकाउन थाले । त्यसपछि उनको बलात्कार भएको प्रहरीको भनाइ छ ।
घटनापछि महिलालाई घटना सार्वजनिक गर्ने र बेइज्जत गरिदिने धम्की दिदै पटक–पटक बलात्कार गरेका थिए । अब भारतमा गएर घरजम गर्ने भन्दै आश्वासन दिएपछि महिला बस्नेतको पछि लागेकी थिइन् ।
सीमामा शंका लागेर पुछताछपछि उनको उद्धार गरिएको थियो । बस्नेतलाई फैसला कार्यान्वयनका लागि बिहीबार नै प्रहरीले ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।
View : 105
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved