विराटनगर । विराटनगर–१२ को एक घरबाट दिन दहाडै लाखौं मूल्यको धनमाल चोरी भएको छ ।
विराटनगर–१२ कामतचोकका राकेश यादवको घरबाट असोज ३ गते दिउँसो चोरी भएको हो । घरमा कोही पनि नभएको मौका छोपी यादवको घरको दुई कोठामा रहेको दराज फोडेर चोरी भएको हो ।
यादवको घरको एउटा कोठाबाट झण्डै ८ तोला सुनको विभिन्न गरगहना, आधा किलो चाँदीको गहना र नगद २५ हजार चोरी गरेका छन भने अर्को कोठाबाट आठ आना सुनको कानको झुम्का १ जोडी, १ जोडी चाँदीको पाउजु र नगद २५ हजार चोरी भएको बताइएको छ ।
चोरी भएका नगद तथा गरगहनाको मूल्य १५ लाख बढी रहेको अनुमान गरिएको छ ।
आफूसहित घरका पारिवारिक सदस्यहरू आफन्तको मरिमराउको कर्ममा गएको बखत दिउँसै चोरी भएको पीडित यादवले जानकारी दिए ।
बखरी प्रहरी चौकी भन्दा केही मिटर दक्षिणतर्फ कामत चोकमा रहेको यादवको घरमा चोरहरूले घरको पछाडिको ढोका फोडी भित्र प्रवेश गरेर घरमै रहेको हथौडी र पेचकश लगायतका औजार प्रयोग गरी चोरी गरेको देखिएको छ ।
बिहान आफन्तको घर गएका पारिवारिक सदस्य साँझ घर फर्कदा चोरी भएको पत्ता लागेको थियो ।
पीडित परिवारले चोरी घटनाको बिषयमा बखरी प्रहरी चौकीमा जाहेरी दिएका छन् ।
चालु आर्थिक वर्षको साउन र भदौको दुई महिनामा मोरङ जिल्लामा चोरीका ६० वटा घटनाहरूको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता कोपिला चुँडालले बताइन् ।
सो अवधिमा ७८ जना अभियुक्तसमेत पक्राउ परेको उनले जानकारी दिइन् ।
View : 367
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved