विराटनगर । विराटनगरको होराइजन क्रिकेट एकेडेमी मोरङको कटहरीमा जारी वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै होराइजनले उपाधि भिडन्त पक्का गरेको हो ।
खेलमा टस जितेर होराइजन क्रिकेट एकेडेमीले पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।
होराइजनका बलर दिपेश कँडेलको घातक बलिङसामु अर्जुनधाराका ब्याट्सम्यानहरू टिक्न सकेनन् । दिपेशले मात्र २१ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिंदै अर्जुनधाराको ब्याटिङ लाइन ध्वस्त पारे ।
अर्जुनधाराका लागि दिपु भुजेलले २१ बलमा २८ रन (२ छक्का र ३ चौका) र सुजन थपलियाले १७ बलमा २७ रन (१ छक्का र २ चौका) को योगदान दिएपनि टोलीले ठूलो योगफल खडा गर्न सकेन ।
निर्धारित ओभरमा अर्जुनधाराले १४० रन बनाउँदै होराइजनलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
१४१ रनको विजयी लक्ष्य पछ्याएको होराइजनले उत्कृष्ट सुरुवात गर्यो । ओपनर सन्तोष कार्कीले विष्फोटक ब्याटिङ गर्दै मात्र ४७ बलमा ७२ रनको शानदार इनिङ खेले ।
उनले आफ्नो इनिङमा ६ छक्का र ३ चौका प्रहार गर्दै खेललाई सहज बनाएका थिए ।
बलिङतर्फ अर्जुनधाराका सिद्धार्थ कुमालले १७ रन खर्चेर २ विकेट लिए पनि अन्य बलरहरूले होराइजनका ब्याट्सम्यानलाई रोक्न सकेनन् । अन्ततः होराइजनले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
खेलको उत्कृष्ट प्रदर्शनका लागि होराइजनका बलर दिपेश कँडेल र ब्याट्सम्यान सन्तोष कार्की संयुक्त रूपमा ‘म्यान अफ द म्याच’ घोषित भए ।
अब उपाधिका लागि शनिबार आयोजक कटहरी वडा नं. ३ र होराइजन क्रिकेट एकेडेमीबीच कटहरी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ ।
View : 122
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved