विराटनगर । सुरक्षित, दिगो र आधुनिक घर निर्माणको लक्ष्यसहित उद्योग संगठन मोरङले कोशी प्रदेशमै पहिलोपटक ‘घर निर्माण प्रदर्शनी २०८२’ अर्थात् होम बिल्ड एक्जिबिसनको तयारी तिब्र पारेको छ ।
संगठनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले प्रदर्शनीबारे जानकारी दिए ।
संगठनले निर्माण व्यवसाय क्षेत्रलाई चलायमान बनाउने, स्वदेशी निर्माण सामग्री र सेवाको प्रवद्र्धन गर्ने, उपभोक्तामा सुरक्षित घर निर्माणबारे चेतना फैलाउने तथा निर्माण क्षेत्रका सबै सरोकारवालालाई एउटै थलोमा जोड्ने उद्देश्यसहित प्रदर्शनी गर्न लागिएको उनले बताए ।
यो प्रदर्शनीले ५० भन्दा बढी उद्योगहरुको आर्थिक प्रणाली निर्माणमा मद्दत पुग्ने दाबी गरे ।
‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मुख्य अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको संगठनका उपाध्यक्ष एवं घर निर्माण प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले जानकारी दिए ।
उनले घर निर्माण क्षेत्र केवल इँटा, सिमेन्ट र स्टिलमा सीमित नभई श्रमिक, प्राविधिक, इन्जिनियर, परामर्शदाता, निर्माण सामग्री उत्पादक, सेनेटरी, फर्निचर, टायल, मार्बल, विद्युत्, ऊर्जा, इन्टेरियर डिजाइन, बैंक तथा बीमा सेवाजस्ता धेरै क्षेत्रलाई एकैसाथ जोड्ने दाबी गरे ।
उनले अहिलेको सुस्त बजारलाई चलायमान बनाउन र निर्माण क्षेत्रको समग्र प्रणालीलाई सुदृढ गर्न प्रदर्शनी उपयोगी मञ्च बन्ने विश्वास व्यक्त गरे ।
गोल्छाले घर निर्माणबारे आमनागरिकलाई व्यावहारिक जानकारी दिन समेत प्रदर्शनी महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गरेका छन् ।
घर कस्तो बनाउने, कसरी सुरक्षित बनाउने, उपयुक्त निर्माण सामग्री कसरी छान्ने, छत चुहिने वा धमिराले खाने समस्या कसरी समाधान गर्ने, पुराना घरको जिर्णोद्धार कसरी गर्ने भन्ने विषयमा विशेषज्ञबाट जानकारी दिइने उनले बताए ।
यसले घर बनाउन चाहने वा मर्मत गर्न खोजिरहेका उपभोक्ताले प्रत्यक्ष लाभ लिन सक्ने उनले बताए ।
चैत १२ देखि १६ गतेसम्म विराटनगरको मेनरोडस्थित जैन भवन परिसरमा हुने प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहने जनाइएको छ ।
जहाँ वास्तुकला, संरचनात्मक इन्जिनियरिङ, सिमेन्ट, इँटा, स्टिल, वाटरप्रुफिङ, इन्सुलेशन, पाइप, फिटिङ, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, सुरक्षा प्रणाली, मोड्युलर किचन, ढोका–झ्याल, हार्डवेयर, पेन्ट, फ्लोरिङ, फर्निसिङ, निर्माण सफ्टवेयर, स्वचालित उपकरण, बैंक तथा बीमा सेवासम्मका उत्पादन र सेवा समेटिने जनाइएको छ ।
प्रदर्शनीको सबैभन्दा ठूलो फाइदा निर्माण मूल्य शृंखलामा रहेका उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीतिनिर्माता र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने संगठनले उल्लेख गरेको छ ।
यसका माध्यमबाट नयाँ साझेदारी निर्माण गर्दै बजार विस्तार, व्यावसायिक नेटवर्किङ, नवप्रवर्तनको प्रदर्शन र स्वदेशी उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको हो ।
प्रदर्शनीको अवधिमा छलफल सत्र पनि सञ्चालन हुने जनाइएको छ ।
जहाँ वातावरणमैत्री निर्माण, धमिरा नियन्त्रण, आधुनिक मोड्युलर किचन, भूकम्प प्रतिरोधी निर्माण, आगो तथा किचन सुरक्षाजस्ता विषयमा विशेषज्ञले आफ्ना बिचार राख्नेछन् ।
संगठनले यो प्रदर्शनीमार्फत नेपाली निर्माण सामग्री तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता बढाउने, आयात प्रतिस्थापनलाई टेवा पु¥याउने र निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको अध्यक्ष राठीले बताए ।
उनले घर बनाउने सोच भएका सवैले प्रदर्शनीको अवलोकन गर्नु आवश्यक रहेको बताए । प्रदर्शनी अवलोकनका लागि कुनै पनि शुल्क नलाग्ने पनि स्पष्ट पारे ।
उक्त अवसरमा संगठनका पूर्वअध्यक्षहरू राकेश सुराना, सुयश प्याकुरेल, बरिष्ठ उपाध्यक्षहरू भोलेश्वर दुलाल, सुबोध कोइराला लगायतको उपस्थिति रहेको थियो ।
View : 118
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved