Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झापामा फेरि देखियो जापानी इन्सेफलाइटिस

उद्‌घोष संवाददाता
१३ साउन २०८२, मङ्गलवार

विराटनगर । झापाको मेचीनगर नगरपालिकाका दुई जना महिलामा ‘जापानी इन्सेफलाइटिस’ को संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दुई जना महिलामा संक्रमण पुष्टि भएको हो । 

नगर  स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाका अनुसार मेचीनगर–३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्र्षीया महिलामा जापानी इन्सेफलाइटिसको सङ्क्रमण देखिएको हो । 

संक्रमित दुबै जनाको बिर्तासिटी अस्पतालमा उपचार भएको र उनीहरु उपचारपछि घर फर्किएका छन् । दुवैको अवस्था सामान्य छ । 

जापानी इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने भाइरसजन्य रोग हो । 

यसले संक्रमितको स्नायु प्रणालीलाई अंगभंग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन् । 

नगरमा जापानी इन्सेफलाइटिसको संक्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा संगीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीहरुसँग छलफल गरेका छ ।

विज्ञ टोलीले संक्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, विरामीहरुको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ । 

छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले संक्रमण फैलिन नदिन स्वाथ्यकर्मीहरुलाई घर–घर पुगेर सचेतना जगाउन र संक्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

संक्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमा समेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने नगरले जनाएको छ । 

जापानी इन्सेफलाइटिस सार्ने भाइरसबाट संक्रमित हाँस, कुखुरा, सुँगुर, बंगुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको संक्रमण फैलिन्छ ।

टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोश हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन् ।  

जापानी इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । 

शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको संक्रमणको जोखिम कम हुने विज्ञहरुको भनाइ छ । यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनु पर्छ । 

यदि यो खोप लगाउन छुटेको रहेछ भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने विज्ञहरुको भनाइ छ ।

View : 520

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved