विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाको अध्यक्षतामा शुक्रबार विराटनगर स्थित उद्योग संगठन मोरङको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा. धमलाले आर्थिक वर्ष २०७९-८० मा वित्तीय संस्थाले एक लाख ६० हजार ६७९ घर परिवारमा लघुवित्त सेवा पुर्याई ९४ हजार ३०० ऋणी सदस्यलाई १० अर्ब १८ करोड ऋण लगानी गरेको जानकारी दिए । उनले तीन अर्ब ४६ करोड बचत संकलन गरेको बताए ।
वित्तीय संस्थाका संस्थापक सञ्चालक मणि कुमार अर्ज्यालले गरीबी न्यूनिकरणमा खेलेको भूमिका, लघुवित्तमा देखिएको वर्तमान चुनौतीहरू र यसले लघुवित्तमा पार्न सक्ने प्रभावबाट आगामी दिनमा संस्थाले खेल्नु पर्ने भूमिका सम्बन्धबारे जानकारी गराएका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल साधारण सभामा सञ्चालक समिति र शेयर सदस्यहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।
साधारण सभाले संस्थापक शेयरधनी मध्येबाट डा. भेष प्रसाद धमला र सुरेन्द्रराज भट्टराईलाई सञ्चालकमा निर्विरोध निर्वाचित निर्वाचन अधिकृत राजेन्द्र प्रसाद भट्टराईले घोषणा गरेका थिए ।
लघुवित्तले हाल ३१ जिल्लामा १०९ वटा शाखा कार्यालयमार्फत १ लाख ६० हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको जनाइएको छ ।
साधारण सभाकै अवसरमा वित्तीय संस्थाले गरिखानेहरूको कथा र संस्थागत विषयहरू समेटिएको ‘नेरूडे दर्पण’ नामक प्रकाशन सञ्चालक समितिका अध्यक्ष डा. धमलासहित मणि कुमार अर्ज्याल, सुधीर कुमार श्रेष्ठ, सुलक्षणा तिमिल्सिना, बलराम बराल, डा. बलराम पौडेल, भोजराज बस्याल लगायतले संयुक्त रुपमा लोकार्पण गरे ।
उक्त पुस्तकमा वित्तीय संस्थाबाट सीप तथा कर्जा लिई जीवनस्तर माथि उकास्ने ६० जना सदस्यहरूको कथा तथा सञ्चालक समिति कर्मचारीहरूले लघुवित्त क्षेत्रमा हासिल गरेको अनुभवहरू समेटिएको संस्थाका वित्त व्यवस्थापन विभाग प्रमुख दिनेश कटुवालले जानकारी दिए ।
साधारण सभामा लघुवित्त क्षेत्रमा देखिएका चुनौतीविरुद्ध सञ्चालक समिति र कर्मचारी क्षेत्रबाट अझ प्रभावकारी रुपमा काम गर्ने विषयमा छलफल भएको थियो । त्यसैगरी साधारण सभाले गठन गरेको मर्जर- संयुक्त मर्जर समितिले मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई गाभ्न २०८० बैशाख १० गतेको विशेष साधारण सभाबाट प्रस्ताव पारित भए अनुसार मर्जरका कार्यहरू संयुक्त मर्जर समिति मार्फत अघि बढाउने निर्णय गरेको छ ।
संयुक्त मर्जर समितिमा यस संस्थाको तर्फबाट सञ्चालक मणि कुमार अर्ज्यालले समितिको संयोजकको जिम्मेवारीमा रही मर्जर कार्यको नेतृत्व सम्हाल्दै आएका छन् । संयुक्त मर्जर समितिको निर्णय अनुसार राष्ट्रबैङ्कले २०८० साल चैत्र १५ गतेभित्र एकीकृत कारोबार गर्न समय सीमा तोकिसकेको जनाइएको छ ।
View : 161
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved