Biratnagar, Morang, Nepal
१२ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा पहिलो सीप उत्सवको तयारी

सीप प्रतिपर्धामा झापा, मोरङ र सुनसरी जिल्लाका प्राविधिक शिक्षालयहरूबाट छनोट गरिएका सूचना प्रविधितर्फका १०, अटोमोबाइलका चार र होटल व्यवस्थापनमा चार गरी १८ जना प्रशिक्षार्थीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
उद्‌घोष सम्वाददाता
९ जेठ २०८२, शुक्रवार

विराटनगर । उद्योग संगठन मोरङले दुई दिने ‘सीप उत्सव २०८२’ को आयोजना गर्ने भएको छ । प्रदेशभित्रको प्राविधिक शिक्षा, सीप विकास, रोजगारी र उद्योगबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित संगठनले इन्स्योर हेल्भेटासको सहयोगमा जेठ १० र ११ गते संगठनकै कार्यालयको प्राङ्गणमा  उत्सव गर्न लागेको जनाएको छ ।

सीप उत्सवबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राकेश सुरानाले  पहिलो पटक आयोजना गरेको उत्सवले उद्योग व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र हाल उत्पादन भइरहेका जनशक्तिबीचको समन्वय बृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

उनले नेपालमा केही अवसर छैन भनेर विदेशिने तर बाहिरबाट नेपालमै रोजगारीका लागि श्रमिक ल्याउनुु पर्ने अवस्थाको अन्त्य गर्न निजी क्षेत्रले स्वदेशमै रोजगारी निर्माण र उद्यमशीलता बृद्धिमा सहयोग पुगोस् भनेर उत्सव आयोजना गर्न लागिएको  बताए ।

उत्सवकै अवसरमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल विधामा छनौट भएका प्रशिक्षार्थीबीच अन्तिम सीप प्रतिस्पर्धा आयोजना गरिएको सुरानाले जानकारी दिए । उनले उत्सवमा करियर काउन्सिलिङ, अनुभव साटासाट र प्रत्यक्ष तालिमका कार्यक्रमहरू समावेश गरिएको बताए । 

सीप उत्सवले रोजगारीको अवसर खोजिरहेका युवाहरूदेखि उद्योग र तालिमप्रदायक संस्थाहरूसम्मका सरोकारवालाबीच समन्वय स्थापित गराउने र उद्योगको माग अनुसारका सीपयुक्त जनशक्ति उत्पादनमा सहयोग पुग्ने जनाइएको छ । 

सीप प्रतिपर्धामा झापा, मोरङ र सुनसरी जिल्लाका प्राविधिक शिक्षालयहरूबाट छनोट गरिएका सूचना प्रविधितर्फका १०, अटोमोबाइलका चार र होटल व्यवस्थापनमा चार गरी १८ जना प्रशिक्षार्थीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

तीनवटौ विधातर्फ प्रथम हुने एक/एकजजना प्रशिक्षार्थीलाई ‘कोशी प्रदेश स्किल आइकन’ को उपाधि प्रदान गरिने अध्यक्ष सुरानाले बताए ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी), कम्प्युटर एसोशिएसन अफ नेपाल मोरङ, होटल एसोशिएसन अफ नेपाल र नेपाल अटोमोबाइल डिलर्स एसोशिएसनको सहकार्यमा सीप उत्सव आयोजना गरिएको हो ।

संगठनका अध्यक्ष सुरानाले प्रदेशभित्रको सीपयुक्त जनशक्ति निर्माण, उद्योग–शिक्षा सहकार्य र व्यवहारिक तालिमलाई सीप उत्सवका माध्यमबाट प्रभावकारी रुपमा अघि बढाइने बताए । साथै शिक्षा र रोजगारीबीचको दुरी घटाउन र व्यवसायिक तालिमको प्रभावकारिता बढाउन उत्सव महत्वपूर्ण अवसर हुने उनले जानकारी दिए ।

सीप उत्सवका अवसरमा पूर्व बाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा प्रत्यक्ष तालिमसमेत आयोजना गरिने संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए । उनले एक हजार बढी विद्यार्थी तथा युवाहरूका लागि ‘करियर काउन्सिलिङ’ का सत्र पनि सञ्चालन गरिने बताए । 

होटल एसोशिएनका राजन श्रेष्ठले सीप उत्सव रोजगारदाता र श्रमिकका लागि फाइदाजनक हुने बताए । 

इन्स्योर हेल्भेटासका कोशी प्रदेशका प्रबन्धक विकास पन्थीले शिक्षा, सीप, उत्पादन र बजार प्रवद्र्धनमा सीप उत्सव महत्वपूर्ण अवसर बन्ने बताए ।

कोशी प्रदेशमा हाल सातवटा शिक्षालयमार्फत सीटीइभीटीको २४ महिने सीपमूलक तालिम कार्यक्रम सञ्चालित रहेको र सोही तालिमका सहभागी प्रशिक्षार्थीहरूलाई निजी क्षेत्रसँगको सहकार्यमा प्रयोगात्मक रोजगारीमूलक अवसर प्रदान गरिंदै आएको जनाइएको छ ।

View : 130

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved