Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कर्मचारीको चेतावनी पछि कोसी अस्पतालमा नयाँ कर्मचारी नियुक्ति प्रकृया स्थगित

उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

विराटनगर । कोशी अस्पताल विराटनगरको चिकित्सक नियुक्ति प्रकृयाविरुद्ध कर्मचारी युनियनले आन्दोलनको घोषणा गरेपछि अस्पताल प्रशासन पछि हटेको छ । तीन जना चिकित्सक नियुक्त गर्न अस्पताल प्रशासनले कानुनी प्रकृया  मिचेर अगाडि बढाएको जनाउँदै अस्पताल विकास समिति कर्मचारी युनियनले बुधबार आन्दोलनको घोषणा गरेको थियो ।

युनियनको घोषणालगत्तै अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट (मेसु) डा. चन्द्रभाल झाले सूचना निकालेर प्रकृया स्थगित गरेको जानकारी दिएका छन् । उनले ११ गते हुन लागेको अन्तर्वार्ता प्राविधिक कारणले स्थगित गरिएको जनाएका छन् ।

सूचनामा अन्तर्वार्ताका लागि मिति र समय अर्को सूचना प्रकाशित गरी जानकारी गराइने जनाइएको छ । अस्पतालले प्रकृया पूर्ण स्थगित नगरे कर्मचारी आन्दोलन गरेर बिरामीलाई प्रभाव नपर्ने गरी अस्पताल प्रशासन ठप्प पार्ने तयारी गरेका छन् । अस्पतालले एकै मितिमा तीन वटा विज्ञापन निकालेर तीन जनालाई नियुक्ति दिन लागेको थियो ।

खुल्ला प्रतिस्पर्धा भनिए पनि परिचित तीन वटा नामलाई आठौं तहमा नियुक्त गर्न विज्ञापन निकालिएको स्रोतको भनाइ छ । अस्पतालले पत्रपत्रिकामा विज्ञापन नगरेको, लिखित नभई अन्तरर्वार्ता मात्रै लिन लागेको, विकास समितिमा निर्णय नगरेको भन्दै कर्मचारी युनियनले विरोध गरेको थियो । मंगलबार युनियनका अध्यक्ष डा. रोशन खड्काको नेतृत्वको टोलीले १६ बुँदे मागसहित विकास समिति अध्यक्ष डा. फरवाड सिलवाल र मेसु झालाई ज्ञापनपत्र बुझाएका थिए ।

बुधबारसम्म पनि अस्पताल प्रशासनले त्यसको जवाफ नदिए शुक्रबारबाट अस्पताल प्रशासनमा तालाबन्दी गर्ने कार्यक्रम तय गरिएको थियो ।

अध्यक्ष डा. खड्काका अनुसार अस्पताल, जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी दिएर आन्दोलनको घोषणा गरिएको हो । गत माघ ४ मा ५० जना कर्मचारी नियुत्ति गर्न सूचना निकालिएको थियो । यस बारे उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको बताइएको छ ।

ज्यालादारीमा तल्लो तहदेखि उपल्लो तहका चिकित्सकसम्म कार्यरत भए पनि पहुँचवालाका आफन्तलाई जागिर खुवाउने तयारी भएको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । अस्पताल विकास समितिका सदस्य किशोरकुमार पाण्डेका अनुसार समितिमा निर्णय नै नगराई कर्मचारी नियुक्ति प्रकृया थालिएको पाइएको छ । 

कुन विभागका लागि कस्ता स्वास्थ्यकर्मी चाहिएको हो भन्ने सम्बन्धित विभागका प्रमुखहरुलाई जानकारी दिइएको छैन । विभागीय प्रमुखले कर्मचारी अभाव भएको जनाउ दिएपछि मात्रै पदपूर्ति गर्ने चलन रहेकोमा अस्पताल प्रशासनले त्यसो गरेको पाइएको छैन । विकास समिति अध्यक्ष डा सिलवाल भने नेपाल सरकारसँग दरवन्दी स्विकृती लिएर कर्मचारी नियुक्ति गर्न  खोजिएको बताउँछन् ।

View : 181

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved