Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

राजन लिम्बूलाई पठाउने निर्णय उल्टिएपछि मोरङको प्रहरी प्रमुखमा आए चिमरिया

उद्घोष सम्वाददाता
६ कार्तिक २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशको राजधानी रहेको मोरङ जिल्लाको प्रहरी प्रमुख भएर नारायण चिमरिया आएका छन् । प्रहरी उपरीक्षक चिमरिया सोमबार हाजिर हुने बित्तिकै मातहतका कार्यालयहरूको निरीक्षणमा गएका छन् ।

उनीअघिका प्रहरी उपरीक्षक नवराज कार्की आर्थिक अनियमितातामा जोडिएपछि अवधि अगावै प्रहरी प्रधान कार्यालयमा तानिएकाले उनको स्थानमा चिमरिया आएका हुन् ।

चिमरिया अघि राजन लिम्बूलाई मोरङ प्रहरीको प्रमुखमा पठाउने प्रहरी प्रधान कार्यालयको निर्णय उल्टिएको छ । चिमरिया प्रहरी सेवामा प्रवेश गरेको २६ औं वर्षमा १२ औं कार्यालय प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका छन् ।

संयुक्त राष्ट्रसंघको दुई वटा स्टिमोर तथा हाइटी मिशनको अनुभव सम्हालिसकेका उनी प्रदेशको राजधानी रहेको मोरङको कार्यालय प्रमुख हुनुअघि ११ वटा कार्यालयका प्रमुख भइसकेका अनुभवी ब्यक्ति हुन् ।

२०५५ सालमा सेवा प्रवेश गरेपछि प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी बिर्तामोड, दमक, चक्रघट्टी, दुहबी र छोटो अवधी रानीको कार्यालय प्रमुख भए । धनुषा र धादिङमा ट्राफिक प्रहरी प्रमुख भएर पनि उनले काम गरे ।

नायव उपरीक्षक भएपछि सोलुखुम्बु, खोटाङ तथा बानेश्वरमा कार्यालय प्रमुख भएर सफलतापूर्वक नेतृत्व गरेका थिए ।

उपरीक्षकमा बढुवा भएपछि प्रदेश प्रहरी कार्यालय विराटनगर बसेका उनी गत वर्ष विशेष सुरक्षा गण दुहबीको नेतृत्वमा गएका थिए । एउटा कार्यालय नेतृत्वबाट तत्काल अर्को नेतृत्वमा जान क्षमतावान बाहेक कमै अधिकृतले पाउने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयमा रहेर उनले मोरङको राजनीति र अवस्था अध्ययन गरिसकेका छन् ।

झापाको गौरादहमा जन्मिएर माध्यमिक शिक्षा त्यही लिएका उनले उच्च शिक्षा सुकुना क्याम्पस र काठमाडौमा लिएका थिए । हाल इटहरी स्थायी बसोबास भएका उनीसँग जनआन्दोलन र मधेस आन्दोलनमा सुरक्षा दिन नेतृत्वदायी भुमिका निर्वाह गरेको अनुभव पनि छ ।

View : 109

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved