विराटनगर । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरु समक्ष विराटनगरका उद्योगी व्यवसायीले बीमासँग सम्वन्धित समस्या प्रस्तुत गरी समाधानका लागि बीमा प्राधिकरणको सक्रियताका लागि आग्रह गरेका छन् ।
उद्योग संगठन मोरङ र नेपाल बीमा प्राधिकरणको संयूक्त आयोजनामा बुधबार बीमा सम्वन्धी छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले बीमाको प्रिमियम शुल्कमा भइरहेको वृद्धिले उपभोक्ता मारमा परेको भन्दै प्रिमियम शुल्कलाई उपभोक्ता मैत्री वनाउन प्राधिकरणको अग्रसरताका लागि अनुरोध गरे ।
उनले बीमा कम्पनीहरुले हाल बाढी, पहिरो, भुकम्प, आँधीतुफानलगायत अन्य धेरै प्रकारका जोखिमहरुलाई एउटै डालोमा हाली बीमा गर्न वाध्य बनाएको हुँदा उपभोक्ता अधिकारलाई दृष्टिगत गरी आफूलाई आवश्यक शीर्षक मात्र छनोट गर्न दिईनुपर्नेमा जोड दिए ।
अध्यक्ष सुरानाले ‘लस अफ प्रोफिट पोलिसी’को प्रावधान नभएकाले ठुलो घाटा भइरहेको हुँदा उक्त पोलिसीको अविलम्व व्यवस्था गर्न, ट्रान्जिट इन्स्यूरेन्स अन्तरगत लिइने मेरिन पोलिसी र स्वदेशमा ढुवानीका लागी लिइने पोलिसी दरमा लगभग समान भएकाले यसमा परिवर्तन गर्न अनुरोध गरे ।
त्यसैगरी कच्चा पदार्थ र मिल मेशिनेरीलाई जोखिम प्रकृतिका आधारमा फरक फरक वर्गिकरण गरी सोही अनुरुप प्रिमियम लिने व्यवस्था गर्न र कृषिमा आधारित सबै दावीको भुक्तानीको सरल व्यवस्था गर्न प्राधिकरणको पहलका लागि उनले आग्रह गरे ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रिमियम शुल्क संशोधन गर्दा वस्तुको प्रकृतिका आधारमा गरिने भएकाले सबैप्रकारका प्रिमियम शुल्कमा नभई केहीमा वढी भएको वताए ।
त्यसैगरी बीमाको कभरेजमा गेप नहोस् भनि कतिपय पोलिसीलाई एकीकृत गर्नुपरेको, डोमेस्टिक ट्रान्जिटको हकमा भोलुम कम हुनुका साथै प्रोपर्टी र व्रेकडाउन पोलिसीलाई एकैपटक लिनुपर्दा उपभोक्तालाई प्रिमियम शुल्क बढी पर्न गएको वताउँदै बीमा प्रति उपभोक्ताले विश्वास गर्नुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरण प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानी प्रिमियम दर संशोधन गर्दै आएको स्पष्ट पारे ।
उनले बीमा कम्पनीहरुले उपभोक्ताको अधिकार हनन् नहुने गरी सरल र सहज वातावरणमा क्लेम सेटलमेन्ट गर्नुपर्ने बिचार व्यक्त गर्दै पुराना मात्र नभएर नयाँ स्थापना भएका उद्योग व्यवसायको हक हितलाई समेत दृष्टिगत गरी सहज रुपले बीमा गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
छलफलमा उद्योगी व्यवसायीले नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई बीमा कम्पनीहरुको सेवा, शर्तलाई नियमन गरी क्लेम सेटलमेन्टका सन्दर्भमा सक्रियता अपाउन अनुरोध गरे ।
View : 112
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved