Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

ऋषिकेश पोखरेलको उल्लुघुटुदेखि लेखा समितिसम्मको यात्रा

उद्घोष सम्वाददाता
२४ साउन २०८१, बिहिवार

विराटनगर । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति भएपछि आफू मुलुकको अर्थ तथा वित्त प्रणालीका बारेमा धेरै जानकार भएको बताउने र आफ्नै जिल्लाका सांसदसँग भनाभनमा उत्रिने ऋषिकेश पोखरेल को हुन् ? उनको यस विषयमा प्राज्ञिक पृष्ठभूमि के हो ? के भन्छन् उनका समकालीन मित्र तथा सँगै पढेका साथीहरू ?

उद्घोषले केही तथ्य संकलन गर्ने क्रममा  उनी मोरङ जिल्ला रतुवामाई–५ मुल थाततलो भई अहिले विराटनगर–८, अमरटोलमा स्थायी बसोबास गरेका व्यक्ति भएको पाइयो । उनी लामो समयसम्म त्यही आसपासमा डेरा गरी बसेका थिए ।

पोखरेलसँग सम्बन्धित दस्तावेजअनुसार उनी कक्षा–६ मा पढ्दा नै मोरङ, गोविन्दपुरस्थित सुनबर्षी निमाविमा अनेरास्ववियूको प्रारम्भिक कमिटिको अध्यक्ष बनेका थिए । पोखरेल २०५३ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियू सभापति पनि भएका थिए । उनको गाउँ उल्लुघुट्टुमा माध्यमिक तहको विद्यालय नभएपछि पोखरेल इटहरास्थित सरस्वती माविमा कक्षा–८ मा भर्ना भए ।

उक्त विद्यालयबाट उनले २०४२ सालमा पहिलो पटक एसएलसी दिएका थिए ।   तर पहिलो प्रयास सफल नभएपछि उनी २०४३ सालमा दोस्रो पटक एसएलसी दिई उत्तीर्ण भएको उनलाई नजिकबाट जान्नेहरू बताउँछन् । त्यसपछिको बाँकी अध्ययन पोखरेलले पूरा गरे कि गरेनन् धेरैले बताउन सकेनन् । 

उद्घोषले सम्पर्क गरेका व्यक्तिहरूमा पोखरेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षाहरू उत्तीर्ण गरेको आफूलाई खासै जानकारी नभएको भन्ने नै बढी भेटिए । यद्यपि प्रतिनिधि सभा सदस्यहरूको सूचीमा पोखरेलले आफ्नो शैक्षिक योग्यता व्यवस्थापनमा स्नातक खुलाएका छन् । 

२०४४ सालमा एसएलसी उत्तीर्ण गरेपछि पोखरेल विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा आईकममा भर्ना भएको बुझिएको छ । सुरुमा उनी विराटनगरको तीनटोलियामा डेरा गरी बसे । उनीसँगका रुम पार्टनरहरू सुर्यप्रसाद भट्टराई र नीलकण्ठ दाहाल खुरुखुरु पढेर अहिले शिक्षक छन् ।

पढाइलाई भन्दा राजनीतिलाई प्राथमिकतामा राखेर अगाडि बढेका पोखरेल भने अहिले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति छन् । यो पद राज्यमन्त्री सरहको हो । राज्यमन्त्री सरहको पद भएकाले पोखरेलले उपसचिवसरहको एक जना प्रमुख स्वकीय सचिवसहित चालक, भान्से, सुरक्षाकर्मी पाउँछन् । ऊ बेला खुरुखुरु पढेर शिक्षक बनेका भट्टराई र दाहालको भने मासिक तलबबाहेक अन्य केही सुविधा नभएको बुझिएको छ ।

सुनसरीको महेन्द्रनगर चक्रघट्टीस्थित महेन्द्र माविबाट एसएलसी उत्तीर्ण भएपछि सुर्यप्रसाद भट्टराई विराटनगर कलेज पढ्न आएका थिए । पोखरेलसँग आफ्नो चिनजान विराटनगरमै भएको भट्टराईले बताए । २०४४ देखि २०४७ सालसम्म आफूहरू रुम पार्टनर भएर बसेको त्यसपछि आ–आफ्नो कर्मक्षेत्रतर्फ लागेको भट्टराई बताउँछन् । उनीहरूको कर्मक्षेत्रको संयोग नै मान्नुपर्ला तीन रुम पार्टनरमध्ये दुई जना पोखरेलले पढेकै विद्यालयमा अहिले शिक्षक छन् । भट्टराई सरस्वती मावि इटहरा र अर्का दाहाल सुनवर्षी मावि उल्लुघुट्टुमा विद्यार्थी पढाइरहेका छन् ।

कुनै बेला एउटै रुम साझेदारी गरे पनि पोखरेलको पढाइ–लेखाइ बारे आफूलाई केही थाहा नभएको भट्टराईले बताए । ‘खै, ऋषि दाइले पढाइ के गर्नुभयो थाहा भएन, आफूहरू चाहिँ पढाउँदै पढ्ने काम गरियो’ भट्टराईले भने, ‘सीएल सँगै पढेको थाहा छ, त्यसपछि लाखापाखा लागियो, कसले के गर्यो खोजीनिति गरिएन ।’

पोखरेल २०४४ सालमा महेन्द्र मोरङ कलेजमा भर्ना भएर २०५५ सालपछिका केही वर्षसम्म सोही कलेजको विद्यार्थी भए । २०५३ सालमा कलेजको स्ववियु सभापति भए । २०५५ सालमा पनि उनी उम्मेदवार भएका थिए । तर नेविसंघका उपेन्द्र गच्छदारसँग पराजित भए । 

कलेजपछि उनी पार्टी राजनीतिमा लागे । पहिलो पटक पार्टीको मोरङ सचिवमा महेश रेग्मीसँग पराजित भए । पहिलो र दोस्रो पटक गरी दुवै पटक विनोद ढकालको समूहबाट सचिव उठेका उनी दोस्रो पटक भने विजयी भई पार्टीको मोरङ सचिव भए । 

त्यसपछि पार्टी एकता, विभाजन आदिको क्रम चल्दा पोखरेल मोरङ पार्टीको अध्यक्ष बने । २०७० मा भएको संविधान सभा निर्वाचन जितेका, २०७४ मा हारेका र २०७९ मा फेरि जितेका पोखरेल अहिले लेखा समिति सभापति छन् ।

मुलुकको वित्त प्रणालीसँग सिधा सरोकार राख्ने समितिको सभापति पद पोखरेलले ‘डिजर्भ’ गर्छन् कि गर्दैनन् भन्ने संशयका बीच उनी उक्त पदमा मनोनित भएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कृपादृष्टि पर्नु नै उनी उक्त पदका लागि काबिल भएको उनका आलोचकहरूको आरोप छ । 

‘टुटेफुटेको जानकारी लिएर केही शब्द बान्की पारेर भाषण गर्दैमा मान्छे योग्य हुँदैन,’ पोखरेलसँगै लामो समयसम्म विद्यार्थी राजनीति गरेका एक जना समकालीन मित्र भन्छन्, ‘राजनीतिप्रति विश्वास जगाउने हो भने राइट म्यान, राइट प्लेस चाहिँ हुनैपर्छ ।’ उनी नेपाली राजनीतिमा राम्रालाई भन्दा आफ्नालाई ठाउँ दिने परिपाटीको अन्त्य हुनुपर्ने बताउँछन् ।

View : 272

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved