विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानमा मृत भेटिएका दुई छोरीकी आमा अस्मिता न्यौपानेको मोबाइल केरा बगानमै भेटिएको छ । तर अस्मिता भने अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।
श्रीमान् अर्जुन कार्कीसँग विवाद भएपछि शुक्रबार साँझ दुई नाबालख छोरीहरूलाई लिएर हिँडेकी अस्मिता भेटिएकी छैनन् । तर छोरीहरू भने शनिबार अपरान्ह साढे चार बजे केरा बगानमा मृत फेला परेका थिए ।
दुई नाबालिकाको शव भेटिएको ठाउँ नजिकै विषादीको बट्टा समेत भेटिएका कारण अस्मिताले नै उनीहरूको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जनाएको छ ।
मृत फेला परेका दुई बालिकाहरू स्थानीय मालती टोल निवासी सीता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र २९ वर्षीय अस्मिता पौडेलका एक वर्षीया अर्पणा र ३ वर्षीया आयिका भएको प्रहरीले जनाएको छ । छोरीहरू मृत फेलापरे पनि अस्मिता अहिलेसम्म फेला पर्न सकेकी छैनन् । उनको खोजी गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।
शुक्रबार राती करिव साढे ८ बजदेखि घर छाडेर हिँडेकी अस्मिताको एउटा सामसुङ कम्पनीको मोबाइल भने भेटिएको प्रहरीले जनाएको छ । अहिले केरा बगान र नजिकको जंगलमा ठुलो सङ्ख्यामा प्रहरी र स्थानीहरू अस्मिताको खोजीका लागि परिचालन भएका छन् ।
शव भेटिएको ठाउँ नजिकै दुवै नाबालिकाहरूको चप्पल पनि भेटिएको जनाइएको छ ।
अर्जुनले दिदीको घरमा बसेर सोही ठाउँमा घर बनाउँदै थिए । निर्माणाधीन घरमा पानी हाल्ने विषयमा श्रीमान् श्रीमति बीच विवाद भएको र त्यसपछि अस्मिताले छोराछोरीसहित घर छाडेको जनाइएको छ । अस्मिताले विगतमा पनि घर छाड्ने गरेको तर पछि फर्किएर आउने गरेका कारण अर्जुनले बेवास्ता गरेका थिए ।
प्रहरीले भने दुई नाबालिकाको हत्या अस्मिताले नै गरेको हो वा अरु कसैले कर्तव्य गरेर अस्मितालाई बेपत्ता पारेको हो भन्ने कोणबाट समेत अनुसन्धान गरिरहेको जनाएको छ । अर्जुन र अस्मिताको परिवार आठ महिना अघिमात्रै मूल घर धनकुटाको पाख्रिबासबाट सुन्दरहरैंचा झरेका थिए ।
View : 503
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved