Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङमा तीन चर्चित मारवाडी उम्मेदवार

उद्‌घोष संवाददाता
७ माघ २०८२, बुधवार

विराटनगर । मोरङमा यस पटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ब्यवसायिक परिवार अर्थात मारवाडी समुदायबाट तीन जनाको ठूला दलबाट उम्मेदवारी परेको छ ।

दुई जनालाई नेकपा एमाले र एकलाई नेपाली कांग्रेसले टिकट दिएपछि उनीहरु उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । 

दिलिप बगाडिया, फुलकुमार लालवानी र मनोज अग्रवाल तीनैजना राजनीतिक पृष्ठभूमिका भएकाले पनि उनीहरुलाई निर्वाचनको माहौलमा असहज छैन । यीमध्ये सबैभन्दा चर्चित उम्मेदवार हुन्–मोरङ २ का दिलिप बगाडिया । 

उनी दुई पटक रंगेलीको मेयर भैसकेको ब्यक्ति हुन् । २०७९ को निर्वाचनमा एक वडा सदस्य बाहेक सबै एमालेबाट निर्वाचित गराउन बगाडियाको ठूलो भूमिका थियो । नेपालकै ठूला ईँटा उत्पादकमा पर्ने बगाडिया आर्थिक रुपमा सम्पन्न भएकाले पनि उनलाई मतदाताले विश्वास गरेका थिए । उनी २०७० मा तत्कालीन नेकपा माओबादीबाट मेयर निर्वाचित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा सहज जित हासिल गरेपनि अब उनका लागि प्रतिनिधिसभाको निर्वाचत अझ ठूलो परीक्षा हुने भएको छ । 

बगाडियाको सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल र नेपाली कम्युनिष्ट पार्टीका चन्द्रवीर राईसँग प्रतिस्पर्धा हुने देखिएको छ ।

मोरङ–५ मा भने नेपाली कांग्रेसका तर्फबाट लालवानी र नेकपा एमालेका तर्फबाट अग्रवाल उमेदवार छन् । लालवानी नेपाली कांग्रेसका विराटनगरका धेरै पुराना सदस्यमा पर्छन् । 

उनको पारिवारिक सम्बन्ध कोइराला निवाससँग रहेकाले लालवानी ब्यवसायिक परिवारका भएरपनि ब्यापारलाई भन्दा राजनीतिलाई प्राथमिकतामा राखेर हिंडेका ब्यक्ति हुन् ।

लालवानी नेपाली कांग्रेसका स्वतन्त्र सेनानी भिमराज नौलखाका भाञ्जा हुन् । उनलाई नेपाली कांगे्रसले यसअघि विराटनगर जुटमिल्सको अध्यक्ष बनाइसकेको छ । 

उनीसँग प्रतिस्पर्धा गर्दै गरेका अग्रवाल रंगेलीलाई आधार क्षेत्र बनाएर ब्यापारसँगै राजनीतिमा सक्रिय रहेका युवा नेता हुन् । मधेश आन्दोलनका बेला आन्दोलनकारीबाट पीडित भएकाहरुमध्येमा अग्रवाल पनि पर्छन् ।

विराटनगरका चर्चित सुनचाँदी ब्यवसायी स्वर्गीय मनिष अग्रवालका भाइ मनोज पहिलो पटक निर्वाचनमा भाग लिंदैछन् । 

लालवानी र अग्रवालको ५ नम्बर क्षेत्रमा निवर्तमान स्वतन्त्र सांसद तथा हालका राष्ट्रिय ऊर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डल, नेपाली कम्युनिष्ट पार्टीका नेता शिवकुमार मण्डल र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवसँग प्रतिस्पर्धा हुँदैछ ।

ब्यवसायिक परिवारका सदस्यहरुलाई राजनीतिमा आकर्षित गर्दै दलहरुले निर्वाचनमा चन्दा मात्रै लिने गरेको आरोप लागिरहेका बेला मोरङमा यी तीन उमेदवारका कारण मारवाडी समुदायमा नयाँ चर्चा सुरु भएको छ ।

बगाडिया र अग्रवालले टिकट पाइसकेपछि अन्तिम अवस्थामा लालवानीले टिकट पाएका हुन् ।

View : 388

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved