Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

भदौरेमा दम्पती हत्याका आरोपी दाजुभाइ पक्राउ

काठमाडौंमा लुटपाटको योजना बनाए, हत्या गरेर फर्किए

उद्‌घोष संवाददाता
२६ माघ २०८२, सोमवार

विराटनगर । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेमा भएको दम्पती हत्यामा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । 

चिशङ्खुगढी गाउँपालिका–६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको माघ १२ गते राती घरमा लुटपाट गरी हत्या भएको थियो । 

हत्याको १३ औं दिनमा प्रहरीले भदौरेकै दाजुभाइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

जिल्ला प्रहरी प्रहरी कार्यालय ओखलढुंगाले हत्यामा संलग्न चिशङ्खुगढी–६ का ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय किशोरलाई माघ २३ गते काठमाडौंमा डेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

उनीहरू माघ १२ गते राती लुटपाटका लागि गाउँमा आएर राई दम्पतीको घरभित्र रहेका नगद र सुनचाँदी लुटपाट गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार घटना सार्वजनिक हुने भएपछि उनीहरूको हत्या गरेर राती नै काठमाडौं फर्किएको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

‘पक्राउ परेका उनीहरू आफ्नै दाजुभाइ हुन्, एकजना भने नाबालक रहेका छन्’ प्रनाउ केसीले भने, ‘काठमाडौंमै लुटपाटको उद्देश्यले दाजुभाइसँगै गाउँ आएको देखिएको छ, माघ १२ गते राती आएर लुटपाटपछि हत्या गरेर १३ गते बिहानै काठमाडौं फर्किएको पाइएको छ ।’

प्रहरीले गाउँ आएर लगत्तै फर्किएका कारण उनीहरूलाई अनुसन्धानको घेरामा पार्न सफल भएको जनाएको छ । प्रनाउ केसीले दुवैलाई हत्याको दसी प्रमाणसहित नियन्त्रणमा लिन सफल भएको बताए ।

दम्पतीको हत्या गरी उनीहरू ओखलढुंगाबाट खोटाङ हुँदै काठमाडौं पुगेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोगमा उनीहरूलाई काठमाडौं महानगरपालिका–१५ डल्लु क्षेत्रको लखतीर्थमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएर ओखलढुंगा पु¥याइएको जनाइएको छ । 

धनबहादुर वैदेशिक रोजगारीमा गएर फर्किएका थिए । उनले काठमाडौंमा बस्दै आएका भाइसँग राई दम्पतीको हत्या योजना बनाएर भदौरे पुगेको खुलेको छ ।

माघ १३ गते विहान करिव साढे ७ बजेतिर स्थानीयले राई दम्पतीको हत्या भएको जानकारी पाएर प्रहरीलाई खबर गरेका थिए । 

उनीहरूको शव सुतेको खाटबाट भुईँमा सिरक ओडेको अवस्थामा भेटिएको थियो । प्रहरीले हत्यामा प्रयोग गरिएको कोदालोसहित लुटपाट भएको नगद र सुनचाँदीका गरगहनासमेत बरामद गरेको जनाएको छ ।

३४ वर्षीय दाजु धनबहादुरले दम्पती हत्याको योजना बनाएको खुलेको छ । उनैले १७ वर्षीय भाइलाई भदौरे लिएर गएको प्रहरीले जनाएको छ ।

उनीहरूको कोठाबाट मृतक चन्द्रबिक्रमले प्रयोग गर्ने मोबाइल, लुटिएका १५९ थान रिचार्ज कार्ड, मृतक चन्द्रमायाको कानको मारवाडी (सुनको गहना) १ जोर, एउटा सिक्री, सी माला, नगद १२ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

लुटपाट र हत्यापछि काठमाडौं फर्किने क्रममा उनीहरूले बसको टिकट काट्दा झुटो नामथर र ठेगाना उल्लेख गरेर टिकट काटेको अनुसन्धान खुलेको छ । 

हत्या गरिएका दम्पती गाउँमा एक्लै बस्दै आएका थिए । 

उनीहरूले स्थानीय आधारभूत विद्यालय स्थापना गर्नेदेखि सामाजिक क्षेत्रमा अनेकौं काम गर्दै आएका थिए । 

दम्पतीको हत्यापछि भदौरे गाउँ नै आतंकित बनेको थियो । घटनापछि भदौरेबासीले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदान नगर्ने समेत घोषणा गरेका थिए । 

भदौदेमै यसअघि ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया श्रीमती रत्नमाया थापा मगरको समेत लुटपाटपछि हत्या भएको थियो । 

एउटै गाउँमा लगातार हत्याका घटना भएपछि प्रहरीसामू अनुसन्धानको ठूलो चुनौति थपिएको थियो । तर पछिल्लो घटनामा समेत प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरी हत्यारा पक्राउ गर्न सफल भएको हो ।

प्रनाउ केसीले राई दम्पती हत्याका आरोपीविरुद्ध ज्यान सम्बन्धी कसूर तथा डाका चोरी मुद्दामा ओखलढुंगा जिल्ला अदालतबाट म्याद गरेर थप अनुसन्धानसमेत गरिरहेको जानकारी दिए ।

View : 154

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved