कोशीमा गल्यो माओवादी
कोशी सरकारमा सहभागी मन्त्रीहरूः राजेन्द्र कार्की, गणेश उप्रेती, नारायण बुर्जा मगर र बन्दना झाँगर ।
विराटनगर । मुख्यमन्त्रीले राजीनामा दिन नभनेको बहाना गर्दै कोशी प्रदेश सरकारमा बसिरहेका माओवादी मन्त्रीहरू आखिर गलेका छन् । उनीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् । ‘हामी आज राजीनामा दिँदैछौं’, माओवादीका एक मन्त्रीले भने ‘केहीबेरमा हामी औपचारिक रुपमा जानकारी दिनेछौं ।’
कोशी प्रदेशमा लामो समयदेखि सत्तामा रहेको माओवादी अब विपक्षमा पुग्ने भएको छ । केन्द्रमा नयाँ गठबन्धन बनेर सबैतिर विपक्षमा धकेलिए पनि माओवादी कोशी सरकारमा बसिरहेको थियो । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकर पनि सरकारमा बसिरहेको भन्दै माओवादीभित्रैबाट त्यसबारे चर्को असन्तोष थियो । केन्द्रमा नयाँ गठबन्धन बनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत बनिसक्दा पनि कोशी सरकारमा अझै बसिरहने लोभ देखाएका माओवादी मन्त्रीहरूले ‘आफूले बनाएको सरकार किन छाड्नु’ भन्दै आफैले आफैलाई सान्त्वना दिने गरेका थिए ।
‘हामीले बनाएको सरकार हामीले किन छोड्नु्’, अहिलेको कोशी सरकारमा माओवादीको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीलेसञ्चारमाध्यमहरूलाई भनेका थिए ‘निकाले भैगो नि । मुख्यमन्त्रीले राजीनामा माग्नुभएको छैन, निकालेको पनि छैन ।’
मुख्यमन्त्रीले ननिकालेसम्म सरकार नछाड्ने भन्दै आएकमा माओवादी मन्त्रीहरु राजीनामा दिने तयारीमा पुगेका हुन् ।
गएको वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित चार जना सहभागी छन् । सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र बन्दना झाँगर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।
View : 571
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved