Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मोरङको सुन्दरहरैंचामा केरा बगानभित्र भेटियो दुई नाबालिकाको शव, आमा बेपत्ता

शुक्रबार बेलुका अर्जुनसँग विवाद भएपछि अस्मिताले राती साढे ८ बजेतिर दुवै छोरीहरू लिएर घरबाट हिँडेकी थिइन् । छोरीको शव शनिबार दिउँसो करिव साढे चार बजेतिर केरा बगानभित्र भेटिएको र अस्मिता भने बेपत्ता रहेको जनाइएको छ ।
उद्‌घोष सम्वाददाता
१५ भदौ २०८१, शनिवार

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दुई नाबालिकाको शव भेटिएको छ । शनिबार दिउँसो उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धनकुटाको पाख्रिबास–४ का अर्जुन कार्की र अस्मिता न्यौपानेका छोरीहरू तीन वर्षीया आयिका कार्की र एक वर्षीया अर्पणा कार्कीको शव केरा बगानमा भेटिएको हो । शव भेटिएको ठाउँ नजिकै विषादीको बट्टा भेटिएको प्रहरीले जनाएको छ । 

शुक्रबार बेलुका अर्जुनसँग विवाद भएपछि अस्मिताले राती साढे ८ बजेतिर दुवै छोरीहरू लिएर घरबाट हिँडेकी थिइन् । छोरीको शव शनिबार दिउँसो करिव साढे चार बजेतिर केरा बगानभित्र भेटिएको र अस्मिता भने बेपत्ता रहेको जनाइएको छ ।

केरा बगानभित्र नाबालिकाहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

अर्जुन र अस्मिता मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा दिदी नाता पर्ने सीता रेग्मीको घरमा कोठा भाडा लिएर आएका थिए । उनीहरूले कोठा नजिकै घर समेत बनाउँदै गरेको जनाइएको छ । 

प्रहरीले श्रीमानसँग पनि सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनीहरु बिच निर्माणाधीन घरमा पानी हाल्ने विषयमा सामान्य विवाद भएको देखिएको प्रहरीले जनाएको छ ।

नाबालिकाहरूको शव एकै ठाउँमा अँगालो मारेको अवस्थामा भेटिएको जनाइएको छ । दुवै नाबालिकाको शरीरमा कुनैपनि चोटपटक नदेखिएको र घटनास्थल नजिकैमा विषादीको बट्टा समेत भेटिएका कारण उनीहरूलाई आमा अस्मिताले विष खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरीले अस्मिताको खोजी गरिरहेको जनाएको छ ।

View : 625

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved