Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस विशेष महाधिवेशन

गगन–विश्व ‘भोलिको कांग्रेस’, देउवा युग सकिएको मोरङका चार नेताको सन्देश

उद्‌घोष संवाददाता
२८ पुष २०८२, सोमवार

विराटनगर । आइतबार भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा पार्टीको नीति र नेतृत्व नै बदलिन सक्ने संकेत धेरै नेताहरूले गरे । 

विशेष महाधिवेशनको पक्षमा खुलिसकेका र अन्तिममा खुलेका मोरङका कांग्रेस नेताहरूले गगन–विश्वप्रकाशलाई ‘भोलिको कांग्रेस’ का  रूपमा प्रस्तुत गर्दै देउवा युग समाप्त गर्ने घोषणा गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भोलिको कांग्रेसका रूपमा सम्बोधन गर्दै सोमबार विहान ८ बजेबाट सुरू हुने बन्दशत्रको सम्भावित निर्णयप्रति संकेत गरे । 

उनले सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरूलाई ‘हिजोका कांग्रेस’ का रूपमा चित्रित गरे । आचार्यले गगन र विश्वप्रकाशकै काँधमा पार्टीको अभिभारा आएको बताए । 

‘दुई होनाहार महामन्त्रीलाई शुभकामना छ, उहाँहरू भोलिको कांग्रेस हो, शेरबहादुरजी उहाँका साथीहरूको पुस्ता हिजोको कांग्रेस हो’ आचार्यले भने, ‘हिजोका कांग्रेसलाई सम्मान छ, तर भोलिका कांग्रेसलाई स्वागत गर्न मेची–महाकालीका साथीहरू विशेष महाधिवेशनमा उपस्थिति हुनुभएको छ, गगन र विश्वप्रकाश जस्ता साथीहरूले अभिभारा बहन गर्नुपर्छ, विधानसम्मत तरिकाले पार्टी चल्नुपर्छ भन्ने कुराको जय भएको छ ।’

उनले सभापति देउवाप्रति लक्षित गर्दै अभिमानी पार्टीको पदाधिकारीले बहुमत प्रतिनिधिहरूको भावनालाई लत्याउने चेस्टा नगर्न चुनौति समेत दिए । विशेष महाधिवेशनको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित हुने ठाउँ नै कांग्रेसको ठाउँ भएको बताए ।

कांग्रेसका युवा नेता पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले नियमित महाधिवेशन अवरूद्ध भएपछि विशेष महाधिवेशन अघि बढेको स्पष्ट पारे ।

उनले विशेष महाधिवेशनको उद्घाटनका क्रममा पार्टीलाई नवीन बनाउन प्रयास गर्दा संस्थापन पक्षले आफूहरूतर्फ ढुंगा प्रहार गरेको गुनासो पनि गरे ।

संस्थापन पक्षले आफूहरूतिर फालेको ढुंगा जम्मा पारेर कांग्रेसको घर निर्माण गर्ने उनले बताए ।

‘नेपाली कांग्रेसजस्तो सहनशील पार्टी एउटा पक्षलाई निस्तेज पार्ने ठाउँमा कसरी पुर्‍याउनु भयो ?’ पार्टी सभापति शेरबहादुर देउवा लक्षित प्रश्न गरे, ‘हामीमाथि पत्थर फाल्नुभएको छ, म फूलको थुंगा दिएर भन्न चाहन्छु, हामी तपाईंहरूले फालेका पत्थरलाई जम्मा पारेर कांग्रेसको घर बनाउन चाहन्छौं ।’

उनले कांग्रेसलाई यथास्थितिमा राख्न नसकिने बताए । लोकतन्त्रको सुनिश्चित भविष्यका लागि कांग्रेसले नयाँ नीति र नेतृत्व लिएर अघि बढ्ने बताए । 

उनले उद्घाटनमा नआउने सवै नेताहरूलाई विशेष महाधिवेशनमा सहभागी भएर पूर्णता दिन पनि आह्वान गरे ।

‘म सभापति देउवालाई भन्न चाहन्छु, कार्यबाहक सभापति खड्कालाई आग्रह गर्न चाहन्छु, मसँग तिक्तता रित्तिएको छ, यो विशेष महाधिवेशनलाई १०० प्रतिशतको महाधिवेशन बनाऔं’ घिमिरेले भने, ‘यो क्षणलाई नजरअन्दाज नगर्नुस्, बीपी र सुवर्णशमशेरले मिलेर चलाएको पार्टी, उहाँहरूले गरेको अभ्यास र विधानको व्यवस्थालाई सबै मिलेर उत्सवको रूपमा अघि बढाऔं ।’

मोरङका पूर्व सांसद सुनिल शर्माले बन्द सत्रको हलमा उपस्थित हुन सभापति देउवालाई आग्रह गरे । 

‘शेरबहादुर दाइ एउटा ठूलो इतिहास बोकेको हाम्रो नेता हो, तपाईंलाई अब उमेरका बेला माथिबाट बोलाइरहेको बेलामा आफ्ना कार्यकर्ताहरू हिजो जसले तपाईंलाई भोट हाल्यो सभापति बनायो पटकपटक तपाईंलाई सत्तामा पुर्‍यायो, रोइलो छाडेर भोलि बिहान हलमा आउनुस्’ उनले लल्कार्दै भने, ‘पहिलो विकल्प तपाईँ फेरि चुनाव उठ्नुहुन्छ ? तपाईं हारिरहँदा पनि हामी हार्ने साथीहरूलाई रथ हायर गरेर फुलमालासहित पञ्चेबाजा घर पुर्‍याउँछौं, यो हाम्रो कमिटमेन्ट हो ।’

उनले सभापति देउवालाई अनेकौं विकल्प रहेको भन्दै पार्टी नफुटाइ एकढिक्का राखेर सबै विकल्पमा सहयोग गर्ने बताए ।

विशेष महाधिवेशनको पक्षमा खुलेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू शेखर कोइरालाको आवाजलाई साकार पार्न भृकुटीमण्डप पुगेको बताए । 

उनले शेखर कोइरालाकै विचारलाई महाधिवेशन प्रतिनिधिले साकार पार्ने भएकाले कोइरालाको भौतिक उपस्थितिको जरूरी नरहेको जिकिर गरे ।

‘उहाँको आवाजलाई साकार गर्न पनि म यहाँको आएको हुँ’ कार्कीले भने, ‘अहिलेको नेतृत्वले टिकट दिए म लिन्न भन्नुभएको थियो, म नियमित महाधिवेशनमा भएन भने विशेष महाधिवेशन हुनुपर्छ भनेर बोल्नु भएको थियो, त्यसलाई साकार पार्न यहाँ उपस्थित भएको छु ।’

उनले अब कांग्रेसभित्र आफूहरूले चाहेको नेतृत्व छानिने बताए । पार्टीभित्र अब इतर भितर भन्ने नै नरहेको बताए ।

View : 235

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved